काठमाडौं । उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन् । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जारी रहेको छ।
साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा मंगलबार निधन भएको हो। उनको मृत्यु भएपछि परिवारले गृहमन्त्री नआई शव नउठाउने अडान राखेसँगै उत्पन्न परिस्थितिबारे परिवारका सदस्यसँग छलफल गर्न गृहमन्त्री अस्पताल पुगेका हुन् ।
यसअघि मंगलबार नै गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । गृहमन्त्रालयमा भएको छलफलमा पछिल्लो समय देशका विभिन्न क्षेत्रमा देखिएको सामाजिक अवस्था, विवाद, शान्ति–सुरक्षा तथा आपसी सद्भाव कायम गर्ने विषयमा विचारविमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले घटनाको निष्पक्ष अनुसन्धान, शान्ति–सुरक्षा कायम राख्ने तथा समुदायबीच सद्भाव कायम गर्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
















प्रतिक्रिया दिनुहोस्