काठमाडौं। नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ ।
समाचार प्रकाशित गरेको विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत हुने भन्दै सोसाइटीले आज श्रेष्ठको रिहाइको माग गरेको हो। सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको विज्ञप्तिमा प्रकाशित समाचारका सम्बन्धमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्ने उल्लेख छ ।
‘पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ । नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको सोसाइटीले जनाएको छ। समाचार प्रकाशनकै कारण पत्रकारलाई त्रसित बनाउने वा स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने गतिविधिप्रति पनि सोसाइटीले ध्यानाकर्षण गराएको छ ।
सोसाइटीले पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा आफू स्पष्ट रहेको जनाएको छ। तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार तथा प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने उसको धारणा छ। श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दै सोसाइटीले प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति आफू सदैव सचेत, प्रतिबद्ध र खबरदारीमा रहने सोसाइटीले जनाएको छ ।
यसअघि नेपाल प्रहरीले बुधबार राती पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। प्रहरीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ। त्यसैगरी, प्रहरीले बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। श्रेष्ठको पक्राउ तथा जनआस्था कार्यालयमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघले पनि विरोध गरेको छ।
महासंघले श्रेष्ठलाई विनासर्त रिहा गर्न माग गर्दै पत्रकारहरूको अगुवाइमा जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालय अगाडि प्रदर्शन तथा धर्नासमेत गरेको छ।

















प्रतिक्रिया दिनुहोस्