काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले डेटा, प्रविधि र मानवीय सम्बन्धको संयोजनबाट आधुनिक बिक्री क्षेत्रको भविष्य निर्माण हुने बताएका छन् ।
ग्रोथ लिडरशिप एकेडेमीद्वारा शुक्रबार एक होटलमा आयोजित सेल्स समिटलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आधुनिक बिक्री प्रणाली वस्तु वा सेवा बिक्री गर्ने प्रक्रियामा मात्र सीमित नरहेको बताए । उनका अनुसार ग्राहकलाई बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने क्षमता आधुनिक बिक्री व्यवसायको महत्वपूर्ण आधार हो ।
विगतमा सफल बिक्रीकर्मीहरू अनुभव, अन्तर्ज्ञान र व्यक्तिगत सम्बन्धमा बढी निर्भर रहने गरेको उल्लेख गर्दै उनले अहिलेको प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको भूमिका तीव्र रूपमा बढेको बताए । ‘आज हरेक ग्राहकसँगको अन्तरक्रिया आफैंमा महत्वपूर्ण सूचना हो। ग्राहकको रुचि, खरिद व्यवहार, डिजिटल संलग्नता, बजार प्रवृत्ति, प्रतिक्रिया र कारोबारसम्बन्धी तथ्यांकले व्यवसायलाई महत्वपूर्ण जानकारी दिन सक्छ,’ उनले भने ।
अग्रवालले डेटा आफैंमा सफलताको आधार नभएको भन्दै त्यसलाई सही रूपमा विश्लेषण गरी उपयोगी जानकारीमा रूपान्तरण गर्नुपर्ने बताए। प्राप्त जानकारीलाई ग्राहकका लागि मूल्य र व्यवसायका लागि परिणाममा बदल्न सक्ने क्षमता भविष्यका बिक्री व्यवसायीमा आवश्यक रहेको उनको भनाइ थियो । उनले कृत्रिम बुद्धिमत्ता (एआई) ले व्यवसाय तथा बिक्री क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको बताए । एआईको प्रयोगबाट ग्राहकको आवश्यकता बुझ्न, मागको पूर्वानुमान गर्न, व्यक्तिगत रूपमा सञ्चार गर्न, सम्भावित व्यावसायिक अवसर पहिचान गर्न तथा बिक्री उत्पादकत्व बढाउन सकिने उनले बताए। तर, प्रविधिले उत्कृष्ट बिक्रीकर्मीलाई पूर्ण रूपमा विस्थापित गर्न नसक्ने अग्रवालले स्पष्ट पारे। ‘प्रविधि महत्वपूर्ण उपकरण हो, तर विश्वास, मानवीय सम्बन्ध, सहानुभूति र प्रभावकारी संवादको विकल्प प्रविधि मात्र हुन सक्दैन,’ उनले भने ।
नेपालको आर्थिक रूपान्तरणमा दक्ष बिक्री तथा व्यावसायिक जनशक्तिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, उत्पादन, वित्तीय सेवा, शिक्षा, खुद्रा व्यापार तथा सिर्जनात्मक उद्योगमा नेपालले ठूलो सम्भावना बोकेको बताए । राम्रो उत्पादन वा सेवा निर्माण गर्नु मात्र पर्याप्त नभएको भन्दै उनले त्यसलाई नेपालभित्र तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा पुर्याउने क्षमता पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । ‘हाम्रो पर्यटन उद्योगले कसरी उच्च मूल्यका पर्यटक आकर्षित गर्न सक्छ? नेपाली सूचना प्रविधि व्यवसायीले कसरी विश्व बजारमा डिजिटल सेवा बेच्न सक्छन् ? कृषि उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ?’ उनले प्रश्न गरे ।
यी विषय सरकारको मात्र नभई निजी क्षेत्रको समेत साझा जिम्मेवारी भएको उनले बताए । अग्रवालले मानव पुँजी विकासमा विशेष जोड दिँदै प्रविधिले उपकरण उपलब्ध गराए पनि वास्तविक परिणाम मानिसले नै सिर्जना गर्ने बताए। नेपाललाई प्रविधिमा दक्ष, डेटा–आधारित, सिर्जनशील, नैतिक, ग्राहककेन्द्रित, परिवर्तनअनुकूल तथा उत्कृष्ट सञ्चार क्षमता भएका बिक्री व्यवसायी आवश्यक रहेको उनले उल्लेख गरे । शैक्षिक योग्यता मात्र आजको प्रतिस्पर्धात्मक बजारमा पर्याप्त नहुने भन्दै उनले निरन्तर सिकाइ, व्यावहारिक सीप र व्यावसायिक नेतृत्व विकासमा जोड दिए ।आधुनिक ग्राहक पहिलेभन्दा बढी सचेत र जानकारीसम्पन्न रहेको उल्लेख गर्दै अग्रवालले ग्राहकले उत्पादन, मूल्य, गुणस्तर तथा कम्पनीको प्रतिष्ठाबारे तत्काल जानकारी लिन सक्ने अवस्था रहेको बताए । त्यसैले व्यवसायमा विश्वास निर्माण र नैतिक बिक्री अभ्यास अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
उनले युवालाई हरेक दिन नयाँ कुरा सिक्ने बानी विकास गर्न आग्रह गरे । प्रविधि, डेटा विश्लेषण, सञ्चार, वार्ता कौशल तथा ग्राहक र आफ्नै असफलताबाट सिक्नुपर्नेमा उनले जोड दिए । ‘महत्त्वाकांक्षी बन्नुहोस्, तर नैतिक पनि बन्नुहोस् । प्रतिस्पर्धी बन्नुहोस्, तर सहकार्यको भावना पनि राख्नुहोस् । प्रविधिको प्रयोग गर्नुहोस्, तर मानवीय सम्बन्ध कहिल्यै नबिर्सनुहोस्,’ अग्रवालले भने ।निजी क्षेत्र, शैक्षिक संस्था र व्यावसायिक एकेडेमीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई भविष्यको बजारका लागि तयार पार्नुपर्ने बताए। विचार आदानप्रदान, नेतृत्व विकास, प्रविधिको प्रयोग र व्यावसायिक सीप अभिवृद्धिमार्फत नेपालको आर्थिक विकासमा योगदान पुर्याउन सकिने उनको भनाइ थियो ।
प्रत्येक चुनौती र असफलतालाई नयाँ अवसरका रूपमा लिनुपर्ने बताउँदै अग्रवालले निरन्तर सिकाइ, आत्मविश्वास, नैतिकता र नवप्रवर्तनको संयोजनले नेपाली व्यवसाय तथा अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे।















प्रतिक्रिया दिनुहोस्