काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्।
निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट राजीनामा दिएपछि सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो। अध्यक्ष पद रिक्त भएपछि भदौ २५ गते बसेको सिबिफिन कार्यसमिति बैठकले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्व गर्ने जिम्मेवारी उपाध्यायलाई दिने सर्वसम्मत निर्णय गरेको हो।
महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत रहेका उपाध्याय बैंकिङ, बीमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन्। सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले संस्थाको संस्थागत विकास तथा सुदृढीकरणमा योगदान दिँदै आएका छन्।
उपाध्यायले यसअघि विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रको लामो अनुभवका कारण उनको नेतृत्वमा सिबिफिनका आगामी गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
बैंकिङ क्षेत्रले पछिल्लो समय तरलता व्यवस्थापन, कर्जा विस्तार, खराब कर्जा, लगानीको वातावरण तथा विभिन्न नीतिगत र व्यावहारिक चुनौती सामना गरिरहेको अवस्थामा सिबिफिनको नेतृत्व उपाध्यायले सम्हालेका हुन्।
उनको नेतृत्वमा सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रका समस्या तथा चुनौतीलाई सरकार र नियामक निकायसमक्ष प्रभावकारी रूपमा उठाउने, आवश्यक नीतिगत सुधारका लागि समन्वय गर्ने तथा वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि संस्थागत पहललाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्