काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको अटोमोबाइल क्षेत्रलाई आयातमा मात्र निर्भर नराखी स्वदेशमै उत्पादन र एसेम्बलिङ बढाउँदै आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित १८औँ संस्करणको ‘नाडा अटो शो’ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।उनले यातायात तथा अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै नाडा अटो शो व्यापारिक प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्रसमेत भएको बताए ।
अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन र सहकार्यका नयाँ आयाम थप्न नाडाले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ छ। ‘अब नेपालमै सवारीसाधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अग्रसर हुन आवश्यक छ,’ उपराष्ट्रपति यादवले भने, ‘यसले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्राको सञ्चितिमा समेत सहयोग पुर्याउनेछ ।’ उनले हरित ऊर्जामा आधारित सवारीसाधनको प्रवर्द्धन गर्दै मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउनुपर्ने बताए। साथै नेपाली अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँदै विश्वस्तरीय प्रविधि तथा सुरक्षा मापदण्ड नेपालमा भित्र्याउनुपर्नेमा जोड दिए । उपभोक्ता, उद्योगी, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको वातावरण आवश्यक रहेको बताउँदै उनले अटो–टेक स्टार्टअप तथा आधुनिक ग्यारेज सेवा केन्द्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
यस वर्षको नाडा अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि, विद्युतीय तथा हाइब्रिड सवारीसाधन र रोबोट प्रमुख आकर्षणका रूपमा रहेका छन् । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्वपूर्ण हिस्सा बन्दै आएको बताए। उनले अटो क्षेत्रको स्थायीत्वका लागि काम गर्नुपर्नेमा जोड दिए। अध्यक्ष उप्रेतीले भने, ‘नेपालमा एसेम्बलिङ भएका सवारी साधन र त्यसको स्थायीत्वको लागि अब हामीले कम्पोनेन्ट उद्योग स्थापना गर्नतिर लाग्नुपर्ने छ ।’
उनका अनुसार यस वर्षको अटो शो केवल सवारीसाधन प्रदर्शन गर्ने थलो नभई नेपाली अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्बसमेत बन्नेछ। नाडा अटो शो समितिका अनुसार, करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिएको प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल राखिएका छन् । प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ३० ब्रान्डका दुईपाङ्ग्रे सवारी तथा १० वित्तीय एवं बीमा कम्पनी सहभागी छन्। पार्टपुर्जा, टायर र ब्याट्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ ।
यस वर्षको प्रदर्शनीमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्री प्रदर्शन गरिएका छन्। उक्त प्याभिलियनमा करिब आठ नेपाली उत्पादकले विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायत सामग्री प्रदर्शन गरेका छन् । नाडाका अनुसार नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन्। निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशभर करिब २ हजार चार्जिङ स्टेसन सञ्चालनमा छन्। चार्जिङ पूर्वाधारको तुलनामा विद्युतीय सवारीको विस्तार तीव्र भइरहेकाले अटो शोमा सवारीसाधन, चार्जिङ प्रविधि र वित्तीय सेवासम्बन्धी कम्पनीलाई एउटै स्थानमा ल्याएर छलफल तथा प्रदर्शनी गरिएको छ।
प्रदर्शनीमा विभिन्न मूल्य र वर्ग अनुसारका विद्युतीय तथा हाइब्रिड सवारीसाधन राखिएका छन्। बीवाईडी, लीपमोटर, जिली, एमजी र वुलिङलगायत ब्रान्डका विद्युतीय कार तथा अन्य सवारीसाधन प्रदर्शनीमा छन् । दुईपाङ्ग्रेतर्फ रिभोल्टका साथै नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्रीका विद्युतीय मोटरसाइकल पनि सहभागी छन् । चार्जिङ पूर्वाधारतर्फ जीआई चार्जर आधिकारिक चार्जिङ पार्टनरका रूपमा रहेको छ भने एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गरेका छन् ।
अटो शोको अर्को आकर्षण अत्याधुनिक रोबोट बनेका छन्। प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट राखिएको छ। रोबोटमार्फत अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको विकासबारे दर्शकलाई जानकारी दिइने आयोजकले जनाएको छ । नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गरिएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीसँगै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष बनेको छ ।
















प्रतिक्रिया दिनुहोस्