काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पछिल्लो समय व्यवसायीको मनोबल आफ्नो ३६ वर्षको व्यावसायिक यात्राकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन् । उनले नेपालको अर्थतन्त्रलाई पुनर्संरचना (रि–इन्जिनियरिङ) गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बजार शिथिल रहेको, समग्र माग बढ्न नसकेको र उद्योग–व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको बताए । ‘मेरो ३६ वर्षको व्यावसायिक यात्रामा अहिले व्यवसायीको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको देखेको छु,’ उनले भने, ‘अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ, बजार शिथिल छ र व्यवसायी कठिन अवस्थामा छन् ।’
सरकारले बजेटमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने तथा आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने, १ खर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य सार्वजनिक गरे पनि त्यसअनुसारका कार्यक्रम र रणनीति अघि बढ्न नसकेको उनको भनाइ छ । ‘सरकारले बजेटबाट घोषणा त गर्यो, तर ती कामहरू अगाडि बढेनन् । त्यसका लागि रणनीति के लिने, प्लानिङ कहाँ छ र पोलिसी तथा स्ट्राटेजी कहाँ छ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने । अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार, निजी क्षेत्र र सम्बन्धित सबै पक्षले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । ‘नेपालको अर्थतन्त्रलाई रि–इन्जिनियरिङ गर्नुपर्ने अवस्थाहरू भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले रि–इन्जिनियरिङको लागि सबैले सोच्नुपर्छ।’
अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापन गर्न स्वदेशमै उद्योग स्थापना गर्नुपर्ने र त्यसका लागि सरकारले आवश्यक संरक्षण तथा सहजीकरण गर्नुपर्ने उनले बताए । विगतमा सरकारकै आग्रहमा नेपालमा केही उद्योग स्थापना भए पनि ती उद्योग सञ्चालनमा आएपछि उनीहरूका समस्या र अवस्थाबारे सरकारले पर्याप्त चासो नदिएको उनको गुनासो छ । ‘उद्योग खोल्नुस् भनेर सरकारले भन्यो, उद्योगहरू खुले पनि ती उद्योगको अवस्था के छ भनेर सरकारले कहिल्यै ध्यान दिएन। उद्योगमा गएर तपाईंको समस्या के छ भनेर सोध्ने काम भएन,’ उनले भने ।
वर्तमान सरकारले लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने तयारी गरिरहेको सन्दर्भमा समेत अध्यक्ष श्रेष्ठले चलिरहेका उद्योगको अवस्थालाई बेवास्ता गर्न नहुने बताए। उनले बन्द उद्योग सञ्चालनमा ल्याउने सरकारको प्रयास सकारात्मक भए पनि त्यसकै नाममा सञ्चालनमा रहेका उद्योग तथा व्यवसायलाई उपेक्षा गर्न नहुने बताए । ‘बूढापाकाले भन्थे-भुइँको टिप्छु भन्दा पोल्टाको खस्ला कि भन्नेमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘सरकारलाई म यही कुरामा सचेत गराउन चाहन्छु ।’
उनले सरकारले बन्द उद्योग सञ्चालनसँगै अहिले सञ्चालनमा रहेका उद्योगका समस्या समाधान गरी निजी क्षेत्रलाई थप लगानी र उत्पादनतर्फ प्रोत्साहित गर्नुपर्ने बताए । ‘यत्रो ठूलो राष्ट्रमा थुप्रै उद्योगहरु छन्, अहिले सरकारले सञ्चालन गर्न चाहेका मध्येका उद्योगहरु बन्द भएर बसेकाले थुप्रै चुनौतीपूर्ण अवस्थामा छ’ उनले भने, ‘ती उद्योगहरुलाई नहेरिकन ‘टुगि’ उद्योग मात्र चलाउँछु भन्ने किसिममा सोच्ने हो भने ठिकै छ, तर सरकारले अरु उद्योगलाई पनि हामी प्रोत्साहन गराउँछौँ, यहाँ सस्टेनेबल बनाउँछौँ भन्न सक्नुपर्यो।’
सरकारले एउटा उद्योग सञ्चालनमा ल्याएर त्यसबाट अन्य उद्योगलाई समेत प्रोत्साहन गर्ने र समग्र औद्योगिक क्षेत्रलाई दिगो बनाउने नीति लिनुपर्ने उनको सुझाव छ । उनले भारतको पश्चिम बंगालमा बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उदाहरण दिँदै नेपालले पनि औद्योगिक क्षेत्रलाई समग्रतामा हेरेर नीति बनाउनुपर्ने बताए।
















प्रतिक्रिया दिनुहोस्