काठमाडौं। प्रिमियम इलेक्ट्रिक एसयूभी ‘अवतार ०७’ नेपाली बजारमा सार्वजनिक भएको छ।
नेपालका लागि अवतारको आधिकारिक वितरक एमएडब्लु वृद्धिले मंगलबारदेखि सुरु भएको १८औँ नाडा अटो शो २०२६ मार्फत अवतार ०७ सार्वजनिक गरेको हो ।
कम्पनीले अवतार ०७ का दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ। यी भेरियन्टको मूल्य क्रमशः २ करोड २० लाख रुपैयाँ र २ करोड ३० लाख रुपैयाँ निर्धारण गरिएको छ । अवतार ०७ को इलेक्ट्रिक भेरियन्टमा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ६५० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिन सक्छ। रियर ह्विल ड्राइभ प्रणालीमा उपलब्ध यसमा २५२ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ, जसले ३४३ पीएस पावर तथा ३६५ एनएम टर्क उत्पादन गर्छ।
प्रदर्शनका हिसाबले अवतार ०७ ले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा पूरा गर्ने दाबी गरिएको छ । यसको अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा रहेको छ । डिजाइनतर्फ अवतार ०७ लाई फ्युचरिस्टिक तथा प्रिमियम स्वरूप दिइएको छ । यसमा डिस्क–विङ फेस, एलईडी स्टार–टुर फ्रन्ट लाइट सिस्टम तथा कुपे शैलीको एसयूभी डिजाइन प्रयोग गरिएको छ । यसको डिजाइन जर्मनीको म्युनिखस्थित ग्लोबल डिजाइन सेन्टरबाट विकास गरिएको कम्पनीले जनाएको छ ।
अवतार ०७ को लम्बाइ ४ हजार ८२५ मिलिमिटर, चौडाइ १ हजार ९८० मिलिमिटर र उचाइ १ हजार ६२० मिलिमिटर रहेको छ। यसको ह्विलबेस २ हजार ९४० मिलिमिटर छ । सस्पेन्सनतर्फ अगाडि डबल विशबोन र पछाडि इन्डिपेन्डेन्ट मल्टिलिंक सेटअप दिइएको छ । गाडीमा ठूलो इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्टिभिटी, वायरलेस चार्जिङ र प्रिमियम इन्टेरियरलगायतका सुविधा छन्। सुरक्षातर्फ ९ वटा एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), ३६० डिग्री क्यामेरा र ड्राइभर मोनिटरिङ सिस्टमलगायतका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्