काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नेपालमा अटोमोबाइल क्षेत्रको विकास र विस्तारका लागि राज्यसँग ठूलो अवसर रहेको बताएका छन्। उनले आयातमा मात्रै सीमित नराखी अटोमोबाइल क्षेत्रलाई स्वदेशमै उत्पादन, एसेम्बलिङ र रोजगारी सिर्जनासँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको भन्दै यस क्षेत्रको समग्र इकोसिस्टमलाई ध्यानमा राखेर सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताए ।
उनका अनुसार गत वर्ष नेपालमा करिब १०६ अर्ब रुपैयाँ बराबरका अटोमोबाइल आयात भएका छन् भने यस क्षेत्रबाट ठूलो मात्रामा राजस्वसमेत संकलन हुँदै आएको छ । त्यसैगरी करिब २० देखि २२ अर्ब रुपैयाँ बराबरका स्पेयर पार्ट्स आयात हुने गरेको उल्लेख गर्दै उनले यस्ता वस्तुको उत्पादन नेपालमै गर्न सकिने सम्भावनातर्फ ध्यान दिन आग्रह गरे । ‘अटोमोबाइल सेक्टर अवसर भएको ठूलो सेक्टर हो । १०६ अर्बको आयात भइरहेको र अझै बढ्दो क्रममा रहेको यो उद्योगलाई सरकारले यहीँ बनाउने किसिममा कसरी प्रोत्साहन गर्ने भन्ने सोच्नुपर्छ,’ श्रेष्ठले भने ।
उनले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयातको दृष्टिले मात्र हेर्न नहुने बताए। यससँग जोडिएको स्पेयर पार्ट्स, पेट्रोलियम पदार्थ, मर्मतसम्भार, सेवा, रोजगारीलगायतको समग्र इकोसिस्टमलाई समेत अध्ययन गरी नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । ‘यसको इकोसिस्टमको कुरा गर्दा धेरै ठूलो हुन जान्छ । पेट्रोलियम पनि यसले कति प्रयोग गर्छ भन्ने कुरा गर्नुपर्छ । यी सबै कुरा हेरेर राज्यसँग अवसर हुँदाहुँदै देशमा भएको अवसरलाई नसोच्ने किसिममा जानु हुँदैन,’श्रेष्ठले भने। अध्यक्ष श्रेष्ठले नेपालमा अटोमोबाइल उद्योगको विकासका लागि एसेम्बलिङ तथा कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सरकारले यस क्षेत्रमा लगानी आकर्षित गर्ने वातावरण बनाउनुपर्ने र निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘सरकारले यसमा सोच बनाएर एसेम्बलिङबाट हुन्छ, कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङबाट हुन्छ, कताबाट आउन सकिन्छ, त्यसलाई प्रोत्साहन गर्नुपर्छ।’
उनले अटोमोबाइल व्यवसायीहरूलाई समेत आयातमा मात्र निर्भर नरही सम्भावना भएका स्पेयर पार्ट्स तथा अन्य सामग्री स्वदेशमै उत्पादन गर्ने दिशामा अघि बढ्न आग्रह गरे। नेपालमा टायर, ब्याट्रीलगायत केही वस्तुको उत्पादन सुरु भइसकेको उल्लेख गर्दै उनले थप उत्पादनमूलक उद्योग स्थापना गर्नुपर्ने बताए ।‘जो–जोले स्पेयर पार्ट्स ल्याउनुहुन्छ, त्यसको भोलुम ठूलो छ भने तपाईंहरूले यहीँ नै बनाउने सोच्नुपर्यो । केही टायरको, ब्याट्रीको काम सुरु भइसकेको छ, अरू पनि सुरु गरौँ,’ उनले भने । अध्यक्ष श्रेष्ठले नेपालमा उद्यमशीलता र उत्पादनशील क्षेत्र विस्तार गर्दै युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउनुपर्नेमा पनि जोड दिए। अहिलेको युवा पलायन चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै उनले मुलुकले पाएको जनसांख्यिक लाभको अवसर लामो समयसम्म नरहने बताए ।‘हाम्रो युवा जुन पलायन छ, एकदम चुनौतीपूर्ण अवस्थामा छ । जुन अहिले हाम्रो जनसांख्यिक लाभ छ, अब आउने १० वर्षपछि हामीले पाउँदैनौँ । हामीले मुलुकसँग भएको मुख्य स्रोत गुमाउँदैछौँ,’ उनले भने ।
उनले उद्योग स्थापना र उत्पादन विस्तारमार्फत रोजगारी सिर्जना गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताए। सरकारले अघि सारेको १०० बिलियन डलरको अर्थतन्त्र र १२ लाख रोजगारी सिर्जनाको लक्ष्यमा निजी क्षेत्रले सहकार्य गर्न तयार रहेको उनले बताए। अटोमोबाइल व्यवसायीहरूले यस क्षेत्रको विकासमा खेलेको भूमिकालाई थप प्रभावकारी बनाउन आग्रह गरे । साथै, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भूमिकाका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादवप्रति उनले आभार व्यक्त गरे।
















प्रतिक्रिया दिनुहोस्