Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

हिमताल विस्फोटको क्षतिबारे प्रधानमन्त्री वा गृहमन्त्रीले संसद्लाई जानकारी दिन केसीको माग

हिमताल विस्फोटको क्षतिबारे प्रधानमन्त्री वा गृहमन्त्रीले संसद्लाई जानकारी दिन केसीको माग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले चीनको तिब्बत स्वायत्त क्षेत्रमा भएको हिमताल विस्फोटका कारण नेपालका विभिन्न जिल्लामा ठूलो क्षति भएको भन्दै सरकारलाई उद्धार, राहत र पुनस्र्थापनामा युद्धस्तरमा परिचालन हुन आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले हिमताल विस्फोटका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताए । क्षतिको यकिन विवरण संकलन भइनसकेको उल्लेख गर्दै उनले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेंसीलगायतका बस्ती प्रभावित भएको जानकारी दिए । उनका अनुसार रसुवाको टिमुरे क्षेत्रमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र त्यहाँ कार्यरत सशस्त्र प्रहरी तथा त्रिशूली ‘ए’ र ‘बी’ आयोजनाका कामदारसमेत सम्पर्कमा नरहेको जानकारी आएको छ । नुवाकोटमा १२ भन्दा बढी पक्की पुलमा क्षति पुगेको, धादिङबेँसी जाने पक्की पुलसमेत क्षतिग्रस्त भएको तथा देवीघाट र त्रिशूली जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको उनले बताए । ऐतिहासिक त्रिशूली बजारसहित बेत्रावती, शान्तिबजार, तुप्चे, ढुंगे, देवीघाट र बागबानी क्षेत्र पनि प्रभावित भएको उनको भनाइ छ ।

सांसद केसीले विपद्को समयमा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे । सरकारले विभिन्न हेलिकप्टर तयारी अवस्थामा राखेको भनिए पनि उद्धारको आवश्यकता भएका कतिपय स्थानमा तत्काल उद्धार हुन नसकेको भन्दै उनले सरकारी संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठाए ।‘विपद्को समयमा सबैभन्दा पहिलो कुरा उद्धार हो,’ उनले भने, ‘उद्धारपछि राहत र त्यसपछि पुनस्र्थापना राज्यको दायित्व हो ।’ केसीले विपद् प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्ने, खानेकुरा तथा आवासको व्यवस्था गर्ने र त्यसपछि उनीहरूको घर, खेत तथा सम्पत्तिको पुनस्र्थापनाका लागि एकीकृत प्याकेज ल्याउनुपर्ने बताए । उनले विपद् व्यवस्थापन र हिमताल विस्फोटको जोखिमबारे आफूले यसअघि नै सरकारको ध्यानाकर्षण गराएको स्मरण गरे । इसिमोड, विपद् व्यवस्थापनसम्बन्धी निकाय, विश्व बैंक तथा यूएनडीपीका प्रतिवेदन अध्ययन गरेर पूर्वतयारीका विषयमा संसद्मा कुरा उठाएको उनले बताए ।

विपद्को समयमा राजनीतिक दल, स्थानीय तह, सामाजिक संस्था र राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्नुपर्नेमा जोड दिँदै केसीले राष्ट्रिय विपद्को अवस्थामा राजनीतिक विवादभन्दा माथि उठेर पीडितको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताए ।सांसद केसीले प्रधानमन्त्री वा गृहमन्त्रीले संसद्मा उपस्थित भएर विपद्को वास्तविक अवस्थाबारे जानकारी गराउनुपर्ने मागसमेत गरे । सरकारले क्षतिको यकिन विवरण संकलन गरी तत्काल उद्धार, राहत र पुनस्र्थापनाको योजना अघि बढाउनुपर्ने उनको भनाइ छ ।‘ओठे भक्तिले मात्रै हुँदैन, कुराले मात्रै हुँदैन, व्यवहारिक रूपमा यसलाई रूपान्तरण गर्न सरकार सफल होस्,’ उनले भने । केसीले विपद् प्रभावित क्षेत्रमा सरकारको गम्भीर ध्यान जानुपर्ने र सबै राजनीतिक दल तथा सम्बन्धित निकायलाई एकीकृत गरेर तत्काल काम अघि बढाउनुपर्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit