काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त रकम तत्काल पठाउन लागिएको जानकारी दिए।
उनका अनुसार बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्र पूर्ण रूपमा परिचालन भएका छन्। विपद्को अवस्थाप्रति सरकार अत्यन्त संवेदनशील रहेको भन्दै मन्त्रिपरिषद् बैठकबाट आवश्यक थप निर्णयसमेत गरिएको उनले बताए।बाढीको अवस्थाबारे जानकारी दिँदै डा. उप्रेतीले बाढी सुरु भएकै समयमा जल तथा मौसम विज्ञान विभागको एउटा मापन स्टेसन बगाएको बताए। ‘स्टेसन बगाएपछि अर्को स्टेसनसम्म बाढी आइपुग्न करिब डेढ घण्टा लागेको थियो। अर्को स्टेसनमा पानीको बहावले खतराको तह पार गरेको छ,’ उनले भने।
उनका अनुसार अहिले बाढी मुग्लिङ तथा सोभन्दा तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। यद्यपि, माथिल्लो जलाधार क्षेत्रमा भने बाढीको सतह क्रमशः घट्दै गएको छ। बाढीपहिरोका कारण केही मानवीय क्षति भएको अनौपचारिक सूचना आए पनि स्थलगत रूपमा आधिकारिक पुष्टि नभएसम्म क्षतिको यकिन विवरण भन्न नसकिने डा। उप्रेतीले स्पष्ट पारे। बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्