रसुवा बाढीमा ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा सरकारको उद्धार, खोजी तथा राहत कार्य तीव्र रूपमा जारी रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।
सामाजिक सञ्जालमार्फत पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढीबाट भएको ठूलो जनधन तथा भौतिक क्षतिप्रति सरकार गम्भीर रहेको र प्रभावित नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद हालसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको उनले जानकारी दिएका छन्। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने अन्य क्षेत्रमा फसेकाको उद्धारका लागि नेपाली सेनाले प्रयास जारी राखेको छ। उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा परिचालित छन्।
प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरले हालसम्म २३६ वटा उडान भरिसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन्। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण उद्धारमा चुनौती रहे पनि थप सुरक्षाकर्मी र हेलिकप्टर तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।
बाढीमा परी घाइते भएकामध्ये जटिल अवस्थाका बिरामीलाई काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ। अन्य घाइतेका लागि रसुवाको धुन्चे र नुवाकोटको बट्टारमा नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ। धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेलिकप्टरमार्फत स्वास्थ्य सेवा दिइने दुई स्थानबाट समेत चिकित्सकको टोली परिचालित भएर सेवा दिइरहेको छ। घाइते तथा उनीहरूका परिवारका सदस्यलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको छ।
उद्धार गरिएका नागरिकको व्यवस्थापनका लागि रसुवामा तीन र नुवाकोटमा १५ वटा राहत शिविर स्थापना गरिएको छ। बाढीबाट विस्थापित करिब तीन हजार ५०० नागरिकलाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत राहतका लागि आर्थिक सहयोग जुटाइरहेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री शाहले बताएका छन्।
सरकारले राहतका नाममा हुन सक्ने वित्तीय ठगी नियन्त्रण तथा सहयोगको पारदर्शी उपयोगका लागि आधिकारिक क्यूआर कोड र ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ तथा ‘प्रधानमन्त्री कोष’का आधिकारिक खातामा मात्र सहयोग गर्न आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अत्यावश्यक सामग्री पुर्याउने कामसमेत जारी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाम, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र तथा बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ। संकलित सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टार र रसुवाको उत्तरगयालगायतका क्षेत्रमा पुर्याएर प्रभावितलाई वितरण भइरहेको छ। आजै एमआई–१७ हेलिकप्टरमार्फत खाद्य सामग्री रसुवाको धुन्चे पुर्याइएको छ।
बाढी प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत जुटिरहेको सरकारले जनाएको छ। एसियाली विकास बैंकबाट पाँच मिलियन अमेरिकी डलर अनुदान र एक लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट पाँच लाख अमेरिकी डलर तथा अष्ट्रेलिया सरकारबाट एक मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ। भारतबाट तीन चरणमा ५७।५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ भने चीन र अमेरिकाबाट पनि थप सहायता आउने क्रममा रहेको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सेवामा समेत ठूलो क्षति पुगेको थियो। नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएकोमा हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी टावर पनि मर्मत गरी चाँडै सञ्चालनमा ल्याउने काम भइरहेको छ।
बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक सडकमार्फत रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्प्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ। त्यस्तै, पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो हटाएर राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ भने धादिङबेँसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको छ।
यसैबीच, बाढीपछि विभिन्न जिल्लामा हालसम्म ६७५ वटा शव फेला परेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासी पूर्व र पश्चिमका विभिन्न स्थानबाट फेला परेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको छ। पहिचान भएका शव परिवारलाई जिम्मा लगाउने र पहिचान हुन नसकेका शवबाट डीएनएलगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर सम्बन्धित निर्देशिकाअनुसार व्यवस्थापन गर्ने काम भइरहेको सरकारले जनाएको छ।
प्रधानमन्त्री शाहले विपद्को कठिन समयमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्था तथा आम नागरिकले देखाएको धैर्य, तत्परता र सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको जीवनरक्षा र मनोबल बढाउने गरी सत्य तथा तथ्यमा आधारित सूचना प्रवाह गर्न आग्रह गर्दै उद्धार तथा पुनःस्थापनाको काम नतिजामा नपुगेसम्म सरकार प्रभावित नागरिकको साथमा रहने बताएका छन्।















प्रतिक्रिया दिनुहोस्