काठमाडौं । रसुवाको बेत्रावती क्षेत्रमा विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षा निरन्तरता तथा संरक्षणका लागि सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले सहयोग गर्ने भएको छ।
श्री नीलकण्ठ माध्यमिक विद्यालयले सञ्चालन गर्ने छात्रावासमा बस्ने प्रभावित बालबालिकाका लागि एक वर्षसम्म आवश्यक खाना उपलब्ध गराउने जिम्मेवारी सिद्धार्थ हस्पिटालिटी परिवारले लिने जनाएको हो। राहत सामग्री तथा खाना लिएर बेत्रावती पुगेको सिद्धार्थ परिवारको टोलीले स्थानीय प्रतिनिधि तथा विभिन्न सहयोगी संस्थासँग राहत र पुनःस्थापनाका विषयमा छलफल गरेको थियो। सो क्रममा श्री नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत प्रभावित बालबालिकाको अवस्था र उनीहरूको शिक्षालाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।
विद्यालयका अनुसार करिब ६ सय विद्यार्थी अध्ययनरत विद्यालयका करिब २ सय विद्यार्थी अझै सम्पर्कमा आउन सकेका छैनन्। विपत्तिका कारण केही बालबालिकाले अभिभावकसमेत गुमाएका छन्। यस्तो अवस्थामा प्रभावित बालबालिकालाई सुरक्षित वातावरणमा राख्दै शिक्षा निरन्तरता दिन विद्यालयले छात्रावास सञ्चालन गर्ने तयारी गरेको हो। सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले विपत्तिपछि तत्कालीन राहतसँगै बालबालिकाको शिक्षा, संरक्षण र भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए। प्रभावित समुदायलाई आफ्नो क्षेत्रबाट सहयोग गर्नु व्यवसायको सामाजिक दायित्वसमेत भएको उल्लेख गर्दै उनले बालबालिकाको शिक्षाका लागि गरिएको सहयोगले दीर्घकालीन महत्व राख्ने उनको भनाइ छ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको छ। ग्रुपले सिद्धार्थ एसोसिएसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी (साकार) मार्फत स्वास्थ्य शिविर, रक्तदान, अस्पताल, छात्रावास तथा वृद्धाश्रमलाई सहयोग, शिक्षा तथा सीप विकास, वातावरण संरक्षणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विपद्का समयमा राहत तथा पुनःस्थापनाका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको सिद्धार्थ परिवारले प्रभावित समुदायको आवश्यकता अझै कायम रहेकाले आगामी दिनमा साकारमार्फत राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्