काठमाडौं। चिनीको मूल्य अस्वाभाविक रूपमा बढेको विषयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारसँग जवाफ मागेको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता जनाइए पनि केही महिनामै बजार मूल्य अत्यधिक बढेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।
समितिका सभापति रहबर अन्सारीले केही महिनाअघि नै चिनीको आपूर्ति र मूल्यका विषयमा सरकारलाई सचेत गराइएको स्मरण गर्दै त्यतिबेला पर्याप्त स्टक रहेको भनिए पनि अहिले मूल्य बढ्नुको कारण खोज्नुपर्ने बताए। उनका अनुसार केही समयअघि प्रतिकिलो ८५ रुपैयाँमा भ्याट जोड्दा करिब ९६ रुपैयाँ पर्ने भनिएको चिनी अहिले बजारमा १०५ देखि १३० रुपैयाँसम्म पुगेको छ। ‘दुई दिनअगाडि वीरगञ्जमा बजारमा चिनीको मूल्य बुझ्दाखेरि १३० रुपैयाँ भनेका छन्। माननीय मन्त्रीज्यू आफैँले पनि १०५, १०६ भन्दै हुनुहुन्छ, जुन भनेको तीन महिना २० दिनअगाडि कमिट भएको प्राइसभन्दा अत्यधिक छ, ’ सभापति अन्सारीले भने ।
अन्सारीले नेपालमा मौज्दात रहेको चिनीको मूल्य छोटो अवधिमै बढ्नुको कारणसमेत प्रश्न गरेका छन्। उनले भने, ‘त्यतिखेरको स्टक, त्यतिखेरको चिनी आजको दिनमा ८५ रुपैयाँ प्लस भ्याटबाट अहिले किन १०६ रुपैयाँ भयो ? यो तीन महिना २० दिनमा चिनीका बोराहरूमा चाहिँ हीरा र मोती पलाए कि?’ उनले भारतले निर्यात रोकेपछि वैकल्पिक मुलुकबाट समयमै चिनी आयात गर्न सके अहिलेको समस्या नआउने दाबी गरे। उनका अनुसार तीन–चार महिनाअघि नै थाइल्याण्ड, ब्राजिललगायत मुलुकबाट ५० हजारदेखि ६० हजार मेट्रिक टन चिनी आयात गरिएको भए बजारमा अहिलेको अभाव र मूल्यवृद्धि नहुने थियो। उनले भने, ‘तीन महिना २० दिनअगाडि यदि हामीले थाइल्याण्डबाट, ब्राजिलबाट, अन्य मुलुकबाट इम्पोर्ट गरिसकेको भए, ५० हजारदेखि ६० हजार मेट्रिक टन इम्पोर्ट गरेको भए आज त्यो अवस्था आउने थिएन।’
बैठकमा उद्योग तथा वाणिज्य मन्त्री यादवले भने सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको दाबी गरिन् । चिनीको आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २२ हजार ५०० मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २ हजार ५०० मेट्रिक टन गरी कुल २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति प्राप्त भएको उनको भनाइ छ। मन्त्री यादवका अनुसार सरकारी संस्थानबाट भने बजारभन्दा कम मूल्यमा चिनी बिक्री भइरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट प्रतिकिलो १०९ रुपैयाँ र साल्ट ट्रेडिङ कर्पोरेसनबाट १०५ देखि १०९ रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘अहिले चिनीको मूल्य बजारमा १५० रुपैयाँभन्दा कम कहीँ पनि छैन भन्ने सुनिन्छ। तर हामी खाद्य संस्थानबाट १०९ रुपैयाँमा बेचिरहेका छौँ र साल्ट ट्रेडिङबाट १०५ रुपैयाँमा पनि छ, १०९ रुपैयाँमा पनि छ। योभन्दा बढी छ भने त्यो चाहिँ कारबाहीमा पर्छ।’
मन्त्री यादवले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाइएको पनि बताइन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका ४४ जिल्लाका १९३ स्थानबाट ‘नेपाल फुड्स’ ब्रान्डका खाद्यान्न बिक्री गर्दा प्रतिकिलो ५ रुपैयाँ छुट दिने व्यवस्था गरिएको उनको भनाइ छ। सभापति अन्सारीले भने बजार अनुगमन गर्दा उद्योगी–व्यवसायीलाई अनावश्यक दुःख दिनेभन्दा वास्तविक अवस्था मूल्यांकन गरेर कारबाही गर्नुपर्ने बताए। उद्योग तथा व्यापारको विकाससँगै उपभोक्ताको हितलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘हामी उद्योग फस्टाओस् भन्ने चाहन्छौँ, हामी व्यापार फस्टाओस् भन्ने चाहन्छौँ। तर साथसाथै उपभोक्ताहरूको हितलाई पनि प्राइमरी हामीले इम्पोटेन्स दिएका छौँ। त्यो कुरा पनि हामीले ध्यान दिनुपर्यो’ उनले भने।
उनले बजारमा हुने कार्टेलिङ, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि आवश्यक कानुन र विधेयक तत्काल संसद्मा ल्याउन मन्त्रालयलाई आग्रह गरे।अन्सारीले बजार अनुगमनलाई व्यावहारिक र तथ्यमा आधारित बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। समितिले चिनीको आपूर्ति, मौज्दात, आयात प्रक्रिया तथा बजार मूल्यबीचको अन्तरबारे थप स्पष्टता आवश्यक रहेको जनाएको छ। साथै उपभोक्ता हित संरक्षण र बजारमा हुने अनियमितता नियन्त्रणका लागि प्रभावकारी कानुनी तथा नियामकीय व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।















प्रतिक्रिया दिनुहोस्