काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी स्पष्ट नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको ३४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपालको हावापानी, भौगोलिक विविधता र उद्यमीहरूको इच्छाशक्ति पुष्प व्यवसायका लागि ठूलो सम्भावना रहेको बताए । उनले स्वदेशी उत्पादनले आन्तरिक माग धान्दै नेपाली फूललाई विश्व बजारसम्म पु¥याउने रणनीति बनाउनुपर्नेमा जोड दिए ।
पुष्प व्यवसायलाई रोजगारी, उद्यमशीलता, पर्यटन तथा वैदेशिक मुद्रा आर्जनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताउँदै श्रेष्ठले बीउ–बिरुवादेखि आधुनिक ग्रीनहाउस, कोल्ड चेन, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङसम्मको पूर्ण मूल्य शृङ्खला विकास गर्नुपर्ने बताए ।
उनले ‘फार्म टु ग्लोबल मार्केट’ अवधारणामा पुष्प व्यवसायलाई अघि बढाउन नीतिगत स्थिरता, सहज कर्जा, आधुनिक पूर्वाधार र प्रविधिमा पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।
बाढीपहिरोलाई आर्थिक संकटका रूपमा सम्बोधन गर्नुपर्ने
अध्यक्ष श्रेष्ठले हालै रसुवा हुँदै नुवाकोट र धादिङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले भौतिक संरचनासँगै अर्थतन्त्रको मेरुदण्डसमेत प्रभावित पारेको बताए । उनले विपद्लाई प्राकृतिक क्षतिका रूपमा मात्र नभई गम्भीर आर्थिक संकटका रूपमा समेत सम्बोधन गर्नुपर्ने बताए ।
उद्योग तथा व्यवसायमा भएको क्षतिले रोजगारी, आपूर्ति शृङ्खला, राजस्व र समग्र आर्थिक गतिविधिमा असर पार्ने उल्लेख गर्दै उनले विपद्पछिको तत्कालीन प्राथमिकता उद्धार र राहत भए पनि अब राहतबाट पुनरुत्थान र पुनर्निर्माणतर्फ स्पष्ट मार्गचित्रसहित अघि बढ्नुपर्ने बताए ।
“सो क्षेत्रका व्यवसायीको पुनरुत्थानका लागि सरकारले राहत प्याकेज घोषणा गर्नुपर्छ । सरकारले केही राहत घोषणा गरेको छ । यसका साथै तत्काल बीमा भुक्तानी, ब्याज मिनाहा, ऋण पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्था गर्नुपर्छ,” श्रेष्ठले भने ।
उनले पुनर्निर्माण गर्दा विगतकै ढाँचालाई निरन्तरता दिनुभन्दा जलवायु परिवर्तन तथा भौगोलिक जोखिमलाई ध्यानमा राखेर सुरक्षित, आधुनिक र दिगो पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।
बाढी प्रभावित क्षेत्रमा ठूला बजार तथा बस्ती नै नष्ट भएकाले अब नयाँ बस्ती विकास गर्दा सुरक्षित स्थानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा आवाज उठाउँदै क्षतिपूर्ति माग गर्नुपर्नेमा उनले जोड दिए ।
स्वदेशी फूलको प्रवर्द्धनमा जोड
अध्यक्ष श्रेष्ठले फ्लोरिकल्चर एसोसिएसन नेपालको साढे तीन दशक लामो यात्राको प्रशंसा गर्दै नेपालको पुष्प व्यवसायलाई संगठित र व्यावसायिक बनाउन संघले खेलेको भूमिकाको सराहना गरे ।
फूल व्यवसायीहरूले व्यापार मात्र नभई आशा, सौन्दर्य र जीवनको सन्देशसमेत प्रवाह गरिरहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको अभिभावक संस्था भएकाले फ्लोरिकल्चर एसोसिएसन नेपालले उठाउँदै आएका नीतिगत तथा व्यावसायिक विषयमा महासंघले पूर्ण सहकार्य र पैरवी गर्ने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गरे । उनले अवैध रूपमा भित्रिने तथा विदेशबाट आयात हुने फूललाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा महासंघको कृषि उद्यम केन्द्रका समितिका सभापति शिवकुमार घिमिरेले पुष्प व्यवसायको प्रवर्द्धनमा राज्यको पर्याप्त ध्यान नपुगेको बताए । उनीहरूले पुष्प व्यवसायको विकासका लागि राज्यले नीतिगत तथा प्राविधिक सहयोग बढाउनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया दिनुहोस्