काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको भएको बताएका छन् ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। मन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै डिक्सले बाढीबाट प्रभावित करिब ७२ किलोमिटर क्षेत्रको भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा पुल र साँघुरा गल्छीका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको बताए। प्रोफेसर आर्नोल्ड डिक्सले भने, ‘यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ । सम्भवतः यस्तो घटना पहिलो नै होला।’
डिक्सका अनुसार कतिपय स्थानमा हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने अवस्था रहेकाले उद्धार टोलीले अत्यन्त जोखिमपूर्ण परिस्थितिमा काम गरिरहेको छ। उनले भने, ‘हेलिकप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो । गल्छीहरू अत्यन्तै साँघुरा छन्। उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो।’ उनले विपत्तिको समयमा एकअर्कालाई दोष दिनेभन्दा उद्धार र मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने बताए। नेपाल सरकार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्धार कार्यमा राम्रो समन्वय गरिरहेको उनको भनाइ छ।‘अहिले कसैले कसैलाई दोष दिने अवस्था छैन । यस किसिमको विपत्ति आउनुमा मैले नेपालको कुनै दोष देख्दिनँ,’ प्रोफेसर डिक्सले भने ।
सतहमा ठूलो क्षति देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र जीवित व्यक्ति नरहेको निष्कर्षमा पुग्न नहुने डिक्सले बताए। सुरुङ तथा अन्य भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्ने उनको भनाइ छ।
डिक्सले उद्धार अभियान सुरु भएलगत्तै जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन, सुरुङका नक्सा तथा उपलब्ध प्राविधिक विवरण अध्ययन गरी सम्भावित उद्धार मार्ग पहिचान गर्न थालेको जानकारी दिए। उनले भने, ‘मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु । विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ।’
डिजाइनलाई अहिलेको घटनाका आधारमा दोष दिन मिल्दैन
डिक्सले हालको विपत्तिलाई आधार बनाएर जलविद्युत् आयोजनाका डिजाइनलाई गलत भन्न नमिल्ने स्पष्ट पारे । उनका अनुसार अहिले देखिएको प्रकृतिको विपत्ति यसअघि विश्वमा देखिएको थिएन।
‘यदि कसैले यी जलविद्युत् आयोजनाको डिजाइन गलत थियो भन्न चाहन्छ भने त्यो पूर्ण रूपमा गलत निष्कर्ष हो। विश्वको इतिहासमा हामीले यस्तो घटना देखेका थिएनौँ।’ विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्यांकनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको असाधारण घटनासँग तुलना गरेर दोष दिन नहुनेमा उनको जोड छ । ‘दुई हप्ताअघिसम्म हामीलाई जे थाहा थियो, त्यसका आधारमा त्यहाँका डिजाइन उपयुक्त थिए । अहिले परिस्थिति बदलिएको छ,’ उनले भने ।
भारी उपकरण घटनास्थल पुर्याउनै चुनौती
डिक्सका अनुसार अहिलेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा निकै फरक छ। उद्धारका लागि आवश्यक भारी उपकरण र दक्ष जनशक्ति घटनास्थलसम्म पुर्याउनु नै ठूलो चुनौती बनेको उनले बताए। बाढीका कारण सडक र पुलमा ठूलो क्षति पुगेकाले ठूला उपकरण स्थलमार्गबाट लैजान नसकिएको तथा हेलिकप्टरबाट पनि पाँच टनसम्मका उपकरण ढुवानी गर्न कठिन रहेको उनको भनाइ छ। ‘हामीलाई कुन उपकरण चाहिन्छ भन्ने थाहा छ, तर ती उपकरण हेलिकप्टरभित्र अटाउँदैनन्,’ उनले भने, ‘त्यसैले अहिले सडक बनाउने काम भइरहेको छ। सडक पुगेपछि मात्रै ठूला मेसिन लैजान सकिन्छ।’ उनले आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउन वैकल्पिक उपायका रूपमा केबल पुल तथा रोपवे निर्माणको सम्भावनासमेत अध्ययन भइरहेको जानकारी दिए।
यो सामान्य उद्धार अभियान होइन
सडक, पुल, सञ्चार र पहुँचका पूर्वाधारमा ठूलो क्षति पुगेकाले उद्धारमा आवश्यक जनशक्ति र उपकरण घटनास्थलसम्म पुर्याउन कठिन भएको डिक्सले बताए।प्रोफेसर डिक्सले भने, ‘हजारौँ मानिस काम गर्न तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पु¥याउन सकिँदैन। त्यहाँ पुगे पनि बस्ने ठाउँ छैन। उपकरण लैजान पनि समस्या छ। त्यसैले यो सामान्य उद्धार अभियान होइन।’ डिक्सले आफूले यसअघि यस्तो प्रकृतिको विपत्ति नदेखेको बताउँदै कठिन भौगोलिक अवस्था, निरन्तर जोखिम र सीमित पहुँचका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको उद्धार प्रयासको प्रशंसा गरे ।
नेपाली जनता एक्लो छैनन्, विश्वको हृदय नेपालसँग छ
डिक्सले भोटेकोशी विपत्तिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको धारणा राखे । आफ्नो गाउँको स्थानीय चर्चमा समेत नेपालका लागि प्रार्थना भइरहेको र अन्तर्राष्ट्रिय टनेलिङ एसोसिएसनले सहयोग तथा ऐक्यबद्धता व्यक्त गरिरहेको उल्लेख गर्दै उनले भने, ‘पुरै विश्वको हृदय तपाईंसँगै दुखेको छ। तपाईंहरूले केही गलत गर्नुभएको छैन भन्ने कुरा संसारले बुझेको छ। यो प्राकृतिक रूपमा घटेको विपत्ति हो । नेपाली जनतालाई मेरो सन्देश छ, तपाईंहरू एक्लो हुनुहुन्न । हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका छौँ।’ डिक्सले भोटेकोशी बाढीबाट जलविद्युत् क्षेत्रमा भएको क्षतिलाई केवल भौतिक पूर्वाधारको विनाशका रूपमा मात्र हेर्न नहुने धारणा राखे। जलविद्युत् नेपालको ऊर्जा सुरक्षा, राष्ट्रिय विकास तथा सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको क्षतिलाई व्यापक दृष्टिकोणबाट हेर्नुपर्ने उनको भनाइ छ। ‘यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो। जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि धेरै महत्वपूर्ण छ।’ यसैगरी, उनले भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति कम गर्न जलविद्युत् आयोजना निर्माणको डिजाइन चरणदेखि नै उद्धार, सुरक्षा र आपत्कालीन पहुँचलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।
डिक्स सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको अभियानमा महत्वपूर्ण प्राविधिक भूमिकाका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चित भएका थिए। हाल उनी भोटेकोशी–त्रिशूली क्षेत्रमा प्रभावित सुरुङ तथा भूमिगत संरचनामा फसेका सम्भावित जीवित व्यक्तिको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्