Advertisement
Advertisement
Corporate Samachar
२६ भाद्र २०८३, शुक्रबार
Advertisement

महानगरले जलन पीडितलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने

महानगरले जलन पीडितलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलनको उपचार आवश्यक पर्ने लक्षित वर्गका व्यक्तिलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा यस्तो सेवा प्रदान गरिनेछ। त्यस्तै, काठमाडौं महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले पनि यो सुविधा पाउनेछन्।

निःशुल्क उपचार सेवा सञ्चालनका लागि काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट) बीच सम्झौता भएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। यसमध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’का लागि छुट्याइएको छ भने अर्को १ करोड रुपैयाँ अस्पतालका लागि आवश्यक औजार तथा उपकरण खरिदमा खर्च गरिएको हो।उपचार कोषको रकम जलन उपचारमा मात्र प्रयोग गर्न पाइनेछ। बिरामीले अस्पतालको क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषबाट रकम खर्च गरिने छैन। साथै, अस्पतालमा उपलब्ध सेवा तथा सुविधामै कोष परिचालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

महानगरपालिकाले यसअघि खरिद गरेका एनेस्थेसिया मेसिन, २५० केभीएको जेनेरेटर र ५०० एमएको डिजिटल एक्स–रे मेसिनसमेत अस्पताललाई हस्तान्तरण गरेको छ। महानगरका अनुसार डिजिटल एक्स–रे मेसिनबाट दैनिक एक सय जनासम्मलाई सेवा दिन सकिनेछ। सामग्री तथा चेक हस्तान्तरणपछि कार्यवाहक प्रमुख डंगोलले पैसा अभावका कारण जलन पीडितले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न कोष स्थापना गरिएको बताइन्।

उनले आगलागी नियन्त्रणमा अग्रपंक्तिमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीलाई जलनबाट बच्ने उपायबारे क्षमता विकास कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्। उनले भनिन्, ‘कसैले जलन भोग्नु नपरोस्। भवितव्य पर्‍यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस्। बल्ल बल्ल अस्पताल पुर्‍याएपछि बिरामी छोडेर पैसाको खोजी गर्न जानु नपरोस्। यसका लागि कोषको व्यवस्था गरेका हौँ।’

अस्पतालका प्रा. डा. शंकरमान राईले पछिल्लो समय जलन उपचारमा अस्पतालको क्षमता उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार करिब १० वर्षअघि ४० प्रतिशत जलेका बिरामीलाई बचाउन कठिन हुने अवस्था रहेकामा अहिले ५० प्रतिशतसम्म जलेका बिरामीमध्ये करिब आधालाई बचाउन सक्ने क्षमता विकास भएको छ। महानगरपालिकाको सहयोग निरन्तर रहे आगामी १० वर्षभित्र ७० प्रतिशतसम्म जलेका बिरामीमध्ये ५० प्रतिशतलाई बचाउन सक्ने क्षमता विकास गर्ने लक्ष्य रहेको उनले बताए।

सम्झौताअनुसार जलन उपचारसँगै जलनसम्बन्धी दुर्घटना न्यूनीकरण, प्राथमिक उपचार, सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम र तालिमसमेत सञ्चालन गरिनेछ। महानगरपालिकाले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल र कान्ति बाल अस्पताललगायत ठूला अस्पताललाई समेत उपचारका लागि आवश्यक पूर्वाधार, साधन तथा उपकरणमा सहयोग गर्दै आएको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit