Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा जुट्यो ९ अर्ब, माछापुच्छ्रे बैंकको अगुवाइमा ६ संस्थाले लगानी गर्दै

६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा जुट्यो ९ अर्ब, माछापुच्छ्रे बैंकको अगुवाइमा ६ संस्थाले लगानी गर्दै
विज्ञापन
Advertisement

काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन पूरा गरेको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ। त्यसमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण र ३ अर्ब रुपैयाँ प्रवर्द्धक तथा संस्थापकको स्वपुँजीबाट जुटाइएको हो। वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ। प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंक तथा मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन्।

प्रतिमेगावाट १९ करोड लागत

आयोजनाको अनुमानित प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ रहेको छ। ४ घण्टा अर्धजलाशययुक्त प्रकृतिको आयोजनाले सुक्खायाममा समेत दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गरी डिजाइन गरिएको छ। नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। कम्पनीका अनुसार आयोजनाबाट वार्षिक करिब ३७ करोड १८ लाख युनिट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट पहिलो वर्ष करिब २ अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ। सञ्चालनको नवौँ वर्षसम्म पुग्दा वार्षिक आम्दानी करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान छ। पीपीएअनुसार आयोजनाले विद्युत बिक्री मूल्यमा वार्षिक ३ प्रतिशतका दरले आठ पटकसम्म वृद्धि पाउनेछ।

आयोजनाको वित्तीय विश्लेषणअनुसार इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। त्यस्तै, लाभ–लागत अनुपात १.५८, खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ र साधारण पेब्याक अवधि करिब ५.७३ वर्ष रहने अनुमान गरिएको छ। आयोजनास्थल याक खर्कमा हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी निर्माणका काम अघि बढाइएको कम्पनीले जनाएको छ। आयोजनाको विद्युतगृह भूमिगत बनाउने प्रस्ताव गरिएको छ।

आयोजनाका लागि आवश्यक रुख कटानको काम सम्पन्न भइसकेको छ। एक रुख कटान गरेबापत १० वटा रुख रोप्ने नीतिअनुसार वृक्षरोपण तथा संरक्षणका लागि आयोजनाले वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ उपलब्ध गराएको छ। आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ भने आवश्यक क्याम्प निर्माणको काम पनि पूरा भएको कम्पनीले जनाएको छ।

घलेम्दी हाइड्रोको १ अर्ब १० करोड स्वपुँजी

आयोजनामा प्रमुख शेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ। घलेम्दी हाइड्रोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–नरच्याङमा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरेको छुजुङ खोला आयोजनामा ठूलो परिमाणमा ऋण लगानी सुनिश्चित भएपछि निर्माणका लागि आवश्यक वित्तीय आधार तयार भएको कम्पनीले जनाएको छ।

५५ किलोमिटर प्रसारण लाइन

आयोजनाबाट उत्पादन हुने विद्युत ५५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेसनमा जोडिनेछ। यसका लागि आयोजनाले ५५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। सांग्रिला ऊर्जाले सोही नदी करिडोरमा निर्माणाधीन तथा प्रस्तावित अन्य करिब आधा दर्जन जलविद्युत आयोजनासँगको साझेदारीमा प्रसारण लाइन निर्माण गर्ने सम्झौता गरेको छ। करिडोरमा थप आयोजना जोडिँदै गए प्रसारण लाइन निर्माणको लागतसमेत घट्ने कम्पनीको अपेक्षा छ।

बाढीको जोखिम कम हुने प्रवर्द्धकको दाबी

सांग्रिला ऊर्जाका प्रवर्द्धकहरूले आयोजनाको भौगोलिक अवस्थाका कारण लागत र निर्माण अवधि तुलनात्मक रूपमा कम रहने बताएका छन्। सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीका अनुसार आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले विद्युत उत्पादन क्षमताका आधारमा अत्यधिक ठूला संरचना निर्माण गर्नुपर्ने अवस्था छैन। उनका अनुसार आयोजनाको क्याचमेन्ट क्षेत्रको ५९ प्रतिशतभन्दा बढी भूभाग ३ हजार मिटरभन्दा माथि छ। यसले हिउँदमा समेत तापक्रम बढेसँगै पानीको बहाव कायम राख्न सहयोग गर्ने र जलविज्ञानसम्बन्धी जोखिम घटाउने कम्पनीको दाबी छ।

सांग्रिला ऊर्जाका प्रबन्ध निर्देशक पुष्कर पौडेलले आयोजना नदीको सतहभन्दा करिब ४५ मिटर माथि रहेकाले भोटेकोशीमा आएको जस्तो बाढीबाट आयोजनामा ठूलो क्षति हुने जोखिम न्यून रहेको बताए। उनका अनुसार आयोजनास्थलमा नदीको सेडिमेन्टको मात्रा पनि न्यून छ र हिमपहिरोको जोखिमसमेत कम रहेको छ। अर्धजलाशययुक्त आयोजनाका कारण सुक्खायाममा पनि दैनिक चार घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गरी आयोजना डिजाइन गरिएको पौडेलले जानकारी दिए।

समयमै आयोजना सम्पन्न हुन्छ

सम्झौतापछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न बैंक तथा सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको बताए। उनले आयोजनाको निर्माणमा सुरक्षा र गुणस्तरलाई प्राथमिकता दिँदै समयमै काम सम्पन्न गर्न प्रवर्द्धक पक्षलाई आग्रह गरे। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले अनुभवी प्रवर्द्धकले अनुभवी बैंकहरूको सहवित्तीयकरण प्राप्त गरेकाले आयोजना निर्माणमा सहजता हुने बताए।

डाँगीले आफूले प्रवर्द्धन गरेको ७.५ मेगावाटको जलविद्युत आयोजनामा पनि माछापुच्छ्रे बैंकले लगानी गरेको स्मरण गर्दै बैंकको सहयोगका कारण निर्धारित तीन वर्षको लक्ष्यभन्दा अघि २२ महिनामै आयोजना सम्पन्न गर्न सफल भएको उल्लेख गरे। उनले जलविद्युत आयोजनाको वित्तीय अवस्था निर्माण सम्पन्न हुने समयसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले निर्माणमा ढिलाइ हुँदा निर्माण अवधिको ब्याज बढ्ने र आयोजनाको वित्तीय अवस्था प्रभावित हुन सक्ने बताए।

१७१ मेगावाटको जलाशय आयोजना पनि अघि बढाउँदै

सांग्रिला ऊर्जा लिमिटेडले १७१ मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत आयोजना पनि अघि बढाउने तयारी गरेको छ। कम्पनीले बाजुराको बिछ्यामा छिम्दी कवाडी खोला जलविद्युत आयोजना विकास गर्न लागेको जनाएको हो। उक्त आयोजनाको हाल सम्भाव्यता अध्ययन भइरहेको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए। छुजुङ खोला आयोजना निर्माणपछि संखुवासभाको भोटखोला क्षेत्रमा विद्युत उत्पादन विस्तार हुनुका साथै राष्ट्रिय प्रसारण प्रणालीमा थप विद्युत आपूर्ति हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit