काठमाडौं । सिंहदरबारमा पुँजी बजार सुधारका विषयमा गरमागरम बहस भइरहेका बेला यता शेयर बजारमा भने गिरावट आएको छ। पुँजी बजार सुधारका उपायदेखि नयाँ धितोपत्र ऐनको परिकल्पनासम्मका विषयमा छलफल भइरहँदा नेप्से परिसूचक पुनः २६ सय विन्दुबाट तल झरेर २५ सयको विन्दुमा आइपुगेको हो।
आज सिंहदरबारमा शेयर लगानीकर्ता, नेपाल धितोपत्र बोर्डका पदाधिकारी, अर्थ समितिका सभापति तथा सांसदहरूबीच पुँजी बजार सुधारका विषयमा छलफल भएको थियो। छलफलमा बजार सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थादेखि नयाँ धितोपत्र ऐन निर्माणसम्मका विषय उठेका थिए।
सरकारले पछिल्लो समय पुँजी बजार सुधारका लागि विभिन्न योजना, नियमावली तथा निर्देशिका अघि बढाउँदै आएको भए पनि त्यसको प्रत्यक्ष प्रभाव भने शेयर बजारमा देखिन सकेको छैन। सुधारका विषयमा छलफल र नीतिगत तयारी भइरहे पनि बजारमा लगानीकर्ताको उत्साह भने कमजोर देखिएको छ।
आजको कारोबारमा नेप्से परिसूचक ४.८२ अंकले घटेर २ हजार ५९८.८९ विन्दुमा झरेको छ। कारोबार रकमसमेत घटेको छ। यस दिन ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
पछिल्लो समय बजार २६ सय विन्दु आसपास पुगे पनि त्यसलाई निरन्तरता दिन सकेको छैन। बजारमा कारोबार रकम घट्दै जानु र लगानीकर्ताको सक्रियता कमजोर हुँदै जानुले बजारमा अझै स्पष्ट दिशाको अभाव देखिएको छ।
अर्कोतर्फ, अहिले अधिकांश सूचीकृत कम्पनीले लाभांश घोषणा तथा वितरण गर्ने समय हो। राम्रै लाभांश दिने कम्पनीहरूमा समेत लगानीकर्ताको आकर्षण अपेक्षाकृत बढ्न सकेको छैन। लाभांशको सिजनमा समेत बजारमा उत्साह नदेखिनुलाई लगानीकर्ताको समग्र मनोभाव कमजोर रहेको संकेतका रूपमा हेरिएको छ।
घलेम्दी हाइड्रोपावरमा उच्च कारोबार
आज सर्वाधिक कारोबार हुने कम्पनीमा घलेम्दी हाइड्रोपावर अगाडि रहेको छ। त्यस्तै, पिपुल्स पावर कम्पनी, मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर तथा शिवम् सिमेन्टको शेयरमा पनि उल्लेख्य कारोबार भएको छ। यी कम्पनीमध्ये उच्च कारोबार भएका शेयरमा करिब १५ करोड २८ लाख रुपैयाँसम्मको कारोबार भएको छ।
बजार समग्रमा घटे पनि केही कम्पनीको शेयर मूल्यमा भने उल्लेख्य वृद्धि भएको छ। सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५।२६ प्रतिशतदेखि १४।३७ प्रतिशतसम्म बढेको छ।
यता घट्ने कम्पनीतर्फ सानिमा ग्रोथ फन्ड, चिरख्वा हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावर कम्पनी रहेका छन्। यी कम्पनीको शेयर मूल्य ३।३६ प्रतिशतदेखि ३।३८ प्रतिशतसम्म घटेको छ।
अधिकांश उपसमूह राताम्मे
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जलविद्युत, म्युचुअल फन्ड र ट्रेडिङ समूहको सूचक सामान्य बढेको छ। बाँकी उपसमूहका सूचक भने घटेका छन्।
यसले समग्र बजारमा बिक्री चाप कायम रहेको देखाएको छ। एकातर्फ सिंहदरबारमा पुँजी बजार सुधारका विषयमा नीतिगत बहस तीव्र भइरहेका छन् भने अर्कोतर्फ बजारमा लगानीकर्ताको सक्रियता र कारोबार रकम कमजोर बन्दै गएको छ।
पुँजी बजार सुधारका विषयमा हुने छलफल र नयाँ नीतिगत व्यवस्थाले आगामी दिनमा बजारको मनोविज्ञानमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने अहिलेको बजारको महत्वपूर्ण प्रश्न बनेको छ।















प्रतिक्रिया दिनुहोस्