काठमाडौं। दशैंअघि लगातार सात कारोबार दिनसम्म बढेको शेयर बजार दशैंपछिको पहिलो कारोबार दिनमा घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९ अंकमा झरेको हो ।
सोमबार कारोबार भएका कम्पनीमध्ये ९९ वटाको शेयर मूल्य बढेको छ भने १७१ वटाको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । बजार परिसूचक घटेसँगै कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८८ करोड रुपैयाँको शेयर किनबेच भएकोमा सोमबार ४ अर्ब रुपैयाँको कारोबार भएको छ।
समूहगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशत र व्यापार समूह १.११ प्रतिशतले बढेका छन्। व्यापार समूहमा विशाल बजार कम्पनीको शेयर मूल्य १.४१ प्रतिशतले बढेपछि समग्र समूह सकारात्मक बनेको हो ।
उत्पादन तथा प्रशोधन समूहमा सिमेन्ट कम्पनीहरूको सेयर मूल्यमा भएको वृद्धिले सकारात्मक प्रभाव पारेको छ। यस दिन हालै सूचीकृत बेनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । त्यस्तै, माथिल्लो मैलुङखोलाको शेयर मूल्य ५.८१ प्रतिशत, सोनापुर सिमेन्टको ५.०७ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२ प्रतिशत र घोराही सिमेन्टको ४.४७ प्रतिशतले बढेको छ। सानिमा मिडिल तमोर र सानिगढ हाइड्रोपावरको शेयर मूल्यमा पनि वृद्धि भएको छ ।
अर्कोतर्फ, चिरख्वा हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घटेको छ। महिला लघुवित्तको ७.५७ प्रतिशत र गुराँस लघुवित्तको ५.८१ प्रतिशतले मूल्य घटेको छ । एसियन हाइड्रोपावर, अपोलो हाइड्रोपावर र शुभम् पावरका शेयर मूल्यमा समेत गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक र सानिमा मिडिल तमोर अगाडि रहे। समग्रमा, दशैंपछि खुलेको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवै घटे पनि उत्पादन तथा प्रशोधन र व्यापार समूहमा देखिएको वृद्धिले बजारमा क्षेत्रगत रूपमा फरक प्रवृत्ति रहेको संकेत गरेको छ।















प्रतिक्रिया दिनुहोस्