Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

कर्णालीको कृषिमा बैंकको लगानी न्यून: योगदान ३१ प्रतिशत, लगानी ७ प्रतिशत मात्रै

कर्णालीको कृषिमा बैंकको लगानी न्यून: योगदान ३१ प्रतिशत, लगानी ७ प्रतिशत मात्रै
विज्ञापन
Advertisement

काठमाडौं । कर्णाली प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब एकतिहाइ रहे पनि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने यस क्षेत्रतर्फ निकै न्यून देखिएको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ३१.५२ प्रतिशत योगदान दिने कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको ७.२७ प्रतिशत मात्रै लगानी भएको तथ्यांकले देखाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीको बैंकिङ कर्जा सेवा क्षेत्रमा अत्यधिक केन्द्रित छ। प्रदेशमा प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रको हिस्सा ८५.२१ प्रतिशत रहेको छ । औद्योगिक क्षेत्रमा ७.५२ प्रतिशत र कृषि क्षेत्रमा ७.२७ प्रतिशत कर्जा प्रवाह भएको विवरणमा उल्लेख छ । यसले कर्णालीको वास्तविक आर्थिक संरचना र बैंकिङ क्षेत्रको लगानी प्राथमिकताबीच ठूलो अन्तर रहेको देखाउँछ। कृषि, जडीबुटी, पशुपालन तथा वनजन्य उत्पादनको सम्भावना रहेको प्रदेशमा उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने क्षेत्रमा पर्याप्त वित्तीय स्रोत परिचालन हुन सकेको छैन ।

आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन २ खर्ब ७७ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा प्रदेशको योगदान ४.२० प्रतिशत मात्रै रहने अनुमान छ। यो सातवटै प्रदेशमध्ये सबैभन्दा कम हो । सोही अवधिमा राष्ट्रिय आर्थिक वृद्धिदर ३.८९ प्रतिशत रहने अनुमान गरिँदा कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ५८.४१ प्रतिशत, कृषि क्षेत्रको ३१.५२ प्रतिशत र उद्योग क्षेत्रको १०.०७ प्रतिशत रहेको छ । तर बैंक तथा वित्तीय संस्थाको लगानी प्राथमिकता भने अर्थतन्त्रको यही संरचनाअनुसार देखिएको छैन ।

निक्षेप बढ्यो, कर्जा विस्तार अपेक्षाकृत सुस्त

कर्णालीमा बैंक तथा वित्तीय संस्थाबाट संकलित निक्षेप उल्लेख्य रूपमा बढेको छ । २०८३ असार मसान्तसम्म प्रदेशबाट संकलित निक्षेप २२.०३ प्रतिशतले वृद्धि भई १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर २०.७१ प्रतिशत थियो । तर सोही अवधिमा कर्जा प्रवाह ९.७९ प्रतिशतले मात्रै बढेर ६६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। निक्षेपको तुलनामा कर्जा विस्तारको गति सुस्त हुँदा प्रदेशको कर्जा–निक्षेप अनुपात अघिल्लो वर्षको ६६.८५ प्रतिशतबाट घटेर ६०.१५ प्रतिशतमा झरेको छ । यसले कर्णालीमा संकलित निक्षेपको तुलनामा प्रदेशभित्र कर्जा परिचालन कम रहेको देखाउँछ । स्थानीय उद्यम, कृषि व्यवसाय तथा उद्योगमा लगानी विस्तार गर्न नसक्दा प्रदेशको वित्तीय स्रोतले स्थानीय अर्थतन्त्रमा अपेक्षित योगदान दिन नसकेको अवस्था देखिन्छ ।

सेवा क्षेत्रमा अत्यधिक कर्जा केन्द्रित

कर्णालीमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीको सबैभन्दा ठूलो हिस्सा सेवा क्षेत्रमा केन्द्रित छ ।  अध्ययन प्रतिवेदनमा अनुसार सेवा क्षेत्रमा ८५.२१ प्रतिशत कर्जा प्रवाह भएको छ। सेवा क्षेत्रभित्र पनि उत्पादनमूलक तथा व्यावसायिक सेवाभन्दा उपभोग्य प्रकृतिका व्यक्तिगत कर्जाको हिस्सा ठूलो रहेको छ । बैंक तथा वित्तीय संस्थाले उपभोग्य क्षेत्रमा मात्रै २९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका छन् । यसबाहेक शिक्षा, पर्यटन, वित्तीय सेवा तथा घरजग्गा क्षेत्रमा पनि कर्जा प्रवाह भएको छ। सेवा क्षेत्रको विस्तारले आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याए पनि उत्पादन, प्रशोधन तथा स्थानीय रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान दिने क्षेत्रमा लगानीको हिस्सा बढ्न नसकेको देखिन्छ ।

औद्योगिक क्षेत्रमा लगानी बढे पनि पर्याप्त छैन

औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ७.५२ प्रतिशत रहेको उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा १.९४ प्रतिशतले घटेको औद्योगिक कर्जा समीक्षा अवधिमा २५.६३ प्रतिशतले बढेको उल्लेख छ।औद्योगिक कर्जामध्ये निर्माणसम्बन्धी उद्योगमा ३५.९९ प्रतिशत लगानी भएको छ। गैरखाद्य वस्तु उत्पादन उद्योगमा २५.१८ प्रतिशत, कृषि तथा वनजन्य उद्योगमा १९.९४ प्रतिशत र धातु तथा मेसिनरी उद्योगमा ११.७५ प्रतिशत कर्जा प्रवाह भएको छ। खानीजन्य उद्योगमा सबैभन्दा कम १.२९ प्रतिशत लगानी भएको छ। औद्योगिक कर्जामा वृद्धि देखिए पनि उत्पादनमूलक उद्योगको विस्तार, स्थानीय कच्चा पदार्थको प्रशोधन तथा रोजगारी सिर्जनाका लागि बैंकिङ लगानी अझै बढाउनुपर्ने तथ्यांकले देखाएको छ।

कृषि कर्जा घट्नु चिन्ताजनक

प्रदेशको अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्रमा बैंकिङ लगानी घट्नु थप चिन्ताको विषय बनेको छ। कुल गार्हस्थ्य उत्पादनमा ३१.५२ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा कुल कर्जाको ७.२७ प्रतिशत मात्रै लगानी भएको विवरण छ । समीक्षा अवधिमा कृषि कर्जा १.५६ प्रतिशतले घटेको उल्लेख छ। कृषि कर्जाभित्र पशुपालन तथा पशु बधशाला शीर्षकमा सबैभन्दा बढी १ अर्ब ११ करोड ४४ लाख रुपैयाँ प्रवाह भएको छ। अन्नबाली, फलफूल तथा अन्य कृषि व्यवसायमा भने तुलनात्मक रूपमा न्यून लगानी रहेको छ । कर्णालीमा कृषि उत्पादनको व्यावसायीकरण, सिँचाइ, आधुनिक प्रविधि, शीतभण्डार, प्रशोधन उद्योग र बजारीकरणका लागि ठूलो लगानी आवश्यक छ ।

वित्तीय सेवा सुर्खेतमा केन्द्रित

कर्णाली प्रदेशभित्र कर्जा प्रवाहको भौगोलिक वितरणमा पनि असमानता देखिएको छ। प्रदेशको राजधानी सुर्खेतमा सेवा क्षेत्र कर्जाको ६१.९८ प्रतिशत, औद्योगिक कर्जाको ५६.५१ प्रतिशत र कृषि कर्जाको ३२.७९ प्रतिशत हिस्सा केन्द्रित रहेको विवरण छ । यसको विपरीत हुम्ला, डोल्पा, मुगु र कालिकोटजस्ता दुर्गम जिल्लामा कर्जा प्रवाहको हिस्सा न्यून छ। कुल औद्योगिक कर्जामा डोल्पाको हिस्सा ०.२८ प्रतिशत र कृषि कर्जामा मुगुको हिस्सा २.७४ प्रतिशत मात्रै रहेको छ । २०८३ असार मसान्तसम्म कर्णालीका १० जिल्लामा वाणिज्य बैंकका २१६, विकास बैंकका २१, वित्त कम्पनीका तीन र लघुवित्त वित्तीय संस्थाका २४१ गरी कुल ४८१ शाखा सञ्चालनमा छन् । सुर्खेतमा सबैभन्दा बढी १३९ शाखा छन् भने हुम्लामा १३ र मुगुमा १४ शाखा मात्रै छन् ।

बैंकिङ शाखा विस्तार र निक्षेप संकलनमा वृद्धि भए पनि त्यसअनुसार कृषि, उद्योग तथा दुर्गम जिल्लामा कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीमा वित्तीय पहुँच विस्तारको अर्को चरण भनेको शाखा संख्या बढाउनु मात्रै नभई स्थानीय उत्पादन र उद्यममा कर्जा परिचालन बढाउनु हो ।समग्रमा कर्णालीको वित्तीय क्षेत्रले निक्षेप संकलनमा प्रगति गरे पनि लगानीको संरचनामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ। कृषि तथा औद्योगिक क्षेत्रमा कर्जा विस्तार, दुर्गम जिल्लामा वित्तीय पहुँच वृद्धि र उत्पादनमूलक उद्यमलाई प्राथमिकता दिन सके मात्रै प्रदेशमा संकलित वित्तीय स्रोतले स्थानीय अर्थतन्त्रको विकासमा प्रभावकारी भूमिका खेल्न सक्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit