काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफासहित बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा वृद्धि गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.७९ प्रतिशतले बढेको हो ।
कम्पनीको बीमा व्यवसायमा समेत विस्तार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आर्जन २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २१.३७ प्रतिशतले वृद्धि भई २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको दीर्घकालीन वित्तीय आधारका रूपमा रहेको जीवन बीमा कोषको आकार पनि विस्तार भएको छ । असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । यसअनुसार जीवन बीमा कोष १२.३९ प्रतिशतले बढेको हो । कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड ३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको उल्लेख छ । त्यस्तै, शेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ रहेको छ ।
वित्तीय सूचकतर्फ कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ २९ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अनुपात ३५.४७ गुणा रहेको छ ।















प्रतिक्रिया दिनुहोस्