काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष र बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिएको छ । तर, बीमा व्यवसाय विस्तार र कोषको आकार बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा जीवन बीमा कोषको आकार १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षको अवधिमा कोषको आकार ३५.६१ प्रतिशतले बढेको हो ।
जीवन बीमा कोषमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको खुद नाफामा भने संकुचन आएको छ। समीक्षा अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार कम्पनीको नाफा ११.३९ प्रतिशतले घटेको हो । यता, कम्पनीको बीमा व्यवसायमा भने विस्तार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ रहेको थियो । यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन २३।०६ प्रतिशतले बढेको छ ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २३.८५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ३१ करोड ३ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ लाख १४ हजार रुपैयाँ रहेको छ । समग्रमा रिलायबल नेपाल लाइफको पहिलो त्रैमासिक वित्तीय विवरणमा बीमा व्यवसाय विस्तार, बीमाशुल्क आर्जन र जीवन बीमा कोषको आकारमा सकारात्मक सुधार देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्