काठमाडौं । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेर पनि तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर सञ्चालनमा ल्याउन सफल भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई सरकारले विशेष सम्मान गरेको छ ।
प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै देशको राजस्वमा उच्च योगदान पुर्याएको भन्दै राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनीलाई विशेष कदरपत्र प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले आयोजना गरेको समारोहमा मंगलबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाटभटेनीलाई कदरपत्र प्रदान गरेका थिए । कम्पनीका तर्फबाट मीनबहादुर गुरुङकी श्रीमती साबित्रा गुरुङले उक्त सम्मान ग्रहण गरेकी थिइन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भाटभटेनीका अधिकांश स्टोरमा आगजनी र तोडफोड भएको थियो । त्यसबाट ठूलो क्षति पुगे पनि कम्पनीले छोटो समयमै पुनर्निर्माण गरी अधिकांश स्टोर पुनः सञ्चालनमा ल्याएको थियो। आन्दोलनमा मात्रै भाटभटेनीले करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको थियो । यसअघि दुर्गा प्रसाईंको आह्वानमा भएको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा समेत लुटपाट भएको थियो ।
कर दिवसकै अवसरमा सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई पनि सम्मान गरेको छ। संस्थागततर्फ सूर्य नेपाल र व्यक्तिगततर्फ राजबहादुर साह सर्वाधिक करदाता बनेका छन् । बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटनतर्फ सोल्टी होटल र वस्तु निर्याततर्फ डाबर नेपाललगायत विभिन्न क्षेत्रगत रुपमा १९ व्यक्ति तथा संस्था सम्मानित भएका छन् । सरकारले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्