काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ४०औँ वार्षिक साधारण सभा आगामी मंसिर २३ गते आह्वान गरेको छ ।
बैंकले आज सूचना प्रकाशित गर्दै काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सभा बस्ने जानकारी दिएको हो । सभामा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारित भएमा शेयरधनीले नगद लाभांश प्राप्त गर्नेछन् ।
सभाका अन्य प्रस्तावमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने रहेका छन् । त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको छ ।
बैंकले साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित १६ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।














प्रतिक्रिया दिनुहोस्