मुस्ताङ । नेपाल–चीन उत्तरी व्यापारिक नाका कोरलाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाका हुँदै विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको हो।
मुस्ताङ भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षभरि कोरला नाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तर, चालु आर्थिक वर्षको पहिलो चार महिनामै गत वर्षको तुलनामा दोब्बरभन्दा बढी सवारीसाधन आयात भएका छन्। छोटो समयमै यति ठूलो सङ्ख्यामा विद्युतीय सवारीसाधन भित्रिएको यो पहिलो घटना भएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि विद्युतीय सवारीसाधनसहित अन्य मालसामानको आयात कोरला नाकातर्फ मोडिएको हुन सक्ने भन्सार अधिकृत अमिन्द्र सिंहले बताए।
आयातमा भएको वृद्धिसँगै सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउन भने चुनौती थपिएको छ। कोरलाबाट मुस्ताङ हुँदै अन्य स्थानमा सवारीसाधन ढुवानी गर्न जोखिमपूर्ण सडक, कठिन भौगोलिक अवस्था र दक्ष चालकको अभाव मुख्य समस्या बनेका छन्। भन्सारमा जाँचपास भएर गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय सवारीसाधनसमेत सडकको जोखिम र ढुवानी व्यवस्थापनमा देखिएको कठिनाइका कारण बाटोमै रोकिएको जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्