Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

‘बिल्ड नेपाल एक्स्पो’ घरजग्गा कारोबारमा आएको मन्दी चिरेर निर्माण क्षेत्रलाई नयाँ दिशा दिने प्रयास हो : अध्यक्ष अधिकारी

‘बिल्ड नेपाल एक्स्पो’ घरजग्गा कारोबारमा आएको मन्दी चिरेर निर्माण क्षेत्रलाई नयाँ दिशा दिने प्रयास हो : अध्यक्ष अधिकारी
विज्ञापन
Advertisement

चितवन । घरजग्गा कारोबारमा आएको मन्दी, निर्माण क्षेत्रमा घट्दो गतिविधि र लगानीको खुम्चिँदो वातावरणबीच सुस्ताएको आवास तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यले भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो। घरजग्गा तथा निर्माण क्षेत्रको घट्दो कारोबारलाई गति दिने, स्वदेशी लगानीका सम्भावना उजागर गर्ने, आधुनिक निर्माण प्रविधिको प्रवर्द्धन गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्य एक्स्पोले लिएको आयोजकले जनाएको छ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्रमा देखिएको सुस्तताले यससँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका व्यवसायी, उद्योगी, श्रमिक तथा उपभोक्ता सबै प्रभावित भएको बताए। यस्तो अवस्थामा क्षेत्रलाई पुनः लयमा फर्काउन सामूहिक पहल आवश्यक रहेको उनको भनाइ छ। ‘घरजग्गा तथा निर्माण क्षेत्रमा आएको सुस्तताले यससँग जोडिएका उद्योगी, व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभाव पारेको छ। स्वदेशमै लगानीको वातावरण सिर्जना गर्ने, आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने र व्यवसायी तथा उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेका हौँ। यो व्यवसाय प्रवर्द्धनसँगै समग्र निर्माण क्षेत्रलाई नयाँ दिशा दिने प्रयास पनि हो,’ अधिकारीले भने।

नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले पनि एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार आधुनिक निर्माण प्रविधिको प्रवर्द्धन, सुरक्षित तथा गुणस्तरीय आवास निर्माणसम्बन्धी सचेतना र उपभोक्तालाई प्राविधिक जानकारी उपलब्ध गराउन एक्स्पो उपयोगी हुनेछ। एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, निर्माण प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माणसम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखिनेछन्। साथै, घर निर्माण गर्दा पालना गर्नुपर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर र सुरक्षासम्बन्धी विषयमा समेत जानकारी दिइने आयोजकले जनाएको छ।

घर निर्माण गर्न चाहने उपभोक्तादेखि घरजग्गा व्यवसायी, निर्माण कम्पनी, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण सामग्री उत्पादक र विक्रेतालाई एउटै थलोमा जोड्ने एक्स्पोको उद्देश्य छ। विशेषगरी घर निर्माणका क्रममा देखिने लागत वृद्धि, निर्माणमा हुने ढिलाइ र गुणस्तरसम्बन्धी समस्याबारे उपभोक्तालाई सही जानकारी तथा प्राविधिक परामर्श उपलब्ध गराइनेछ। एक्स्पो अवधिमा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, विषयविज्ञ, इन्जिनियर तथा उपभोक्ताबीच अन्तरक्रिया, परामर्श, अभिमुखीकरण र छलफलका कार्यक्रमसमेत सञ्चालन गरिनेछन्। यसले घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नुका साथै नयाँ व्यावसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ। राजधानी काठमाडौं पछिको महत्वपूर्ण आवास तथा निर्माण बजारका रूपमा विकास हुँदै गएको चितवनलाई केन्द्र बनाएर देशका अन्य सम्भावनायुक्त जिल्लामा समेत लगानीको वातावरण विस्तार गर्ने लक्ष्य एक्स्पोले राखेको छ।

अध्यक्ष अधिकारीले चितवनको भौगोलिक अवस्था, पूर्वाधार विकास र तीव्र सहरीकरणले आवास तथा निर्माण क्षेत्रमा प्रशस्त सम्भावना सिर्जना गरेको बताए।‘चितवन घरजग्गा तथा निर्माण व्यवसायका लागि सम्भावनायुक्त क्षेत्र हो। यहाँको भौगोलिक अवस्था, पूर्वाधार विकास र बढ्दो सहरीकरणले आवास तथा निर्माण क्षेत्रमा ठूलो सम्भावना देखाएको छ,’अधिकारीले भने, ‘हामी चितवनलाई केन्द्र बनाएर देशका विभिन्न जिल्लामा लगानीको वातावरण विस्तार गर्न चाहन्छौँ। यस एक्स्पोले लगानीकर्ता, व्यवसायी र उपभोक्ताबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउनेछ भन्ने अपेक्षा गरेका छौँ।’ एक्स्पोले स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुका साथै विदेशमा सीप र अनुभव हासिल गरेका नेपाली युवालाई स्वदेश फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने लक्ष्यसमेत राखेको छ। देशभित्रै लगानीका अवसर पहिचान गर्ने, उद्यमशीलता विकास गर्ने र रोजगारीका नयाँ सम्भावना सिर्जना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्। आयोजकले करिब २५ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ। इच्छुक प्रदर्शकका लागि स्टल बुकिङसमेत खुला गरिएको छ। निर्माण कम्पनी, घरजग्गा व्यवसायी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता, विद्यार्थी र सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्नेछन्। एक्स्पो अवलोकनका लागि सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार ‘बिल्ड नेपाल एक्स्पो’ निर्माण सामग्रीको प्रदर्शनीमा मात्र सीमित नभई सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, स्वदेशी लगानी र उद्यमशीलताको प्रवर्द्धनमार्फत समग्र निर्माण क्षेत्रलाई पुनर्जीवित गर्ने प्रयास हो। सुस्ताएको घरजग्गा तथा निर्माण व्यवसायमा नयाँ सम्भावना खोज्दै लगानीकर्ता, व्यवसायी र उपभोक्तालाई एउटै मञ्चमा जोड्ने अपेक्षासहित एक्स्पो आयोजना गर्न लागिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit