
काठमाडौँ । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । मोरङलगायत पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ । चिसोबाट बढी बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी समस्यामा परेको मोरङको सुन्दरहरैँचा नगरपालिकाका ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले बताए ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले चिसो बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेको उल्लेख गरे । केही सर्वसाधारण स्थानीय चिसोले गर्दा दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य छन् । कठङ्याग्रिँदो चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारीचालक सरोज लामिछाने सुनाए ।
यस्तै, चिसोको कारण जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीको भनाइ छ । चिसोसँगै दम, निमोनिया, रूघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको पूर्वाञ्चल विद्याविद्यालय शिक्षण अस्पताल गोठगाउँले जनाएको छ ।
बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने हवाई उडान सेवा खराब मौसमका कारण प्रभावित हुन थालेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्