ललितपुर । किस्ट शिक्षण अस्पतालअन्तर्गत सञ्चालित किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रतर्फ आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले उनीहरुको नाम भने खुलाएको छैन् ।
अस्पतालका अनुसार वि.सं. २०८३ असार १५ गते सम्पन्न भएको उक्त प्रत्यारोपणपछि कलेजो दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ। उपचारपछि उनीहरू दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अस्पतालले यो सफल प्रत्यारोपणलाई आधुनिक चिकित्सा प्रविधि र पारिवारिक माया, त्याग तथा समर्पणको उत्कृष्ट उदाहरणका रूपमा लिएको छ। छोरीले आफ्नो कलेजोको अंश दान गरेर बुबालाई नयाँ जीवन दिएको घटनाले अंगदानको महत्वलाई समेत उजागर गरेको अस्पतालको भनाइ छ।
किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी स्वास्थ्य क्षेत्रमा १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गर्दै नेपालको प्रत्यारोपण सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। अत्याधुनिक प्रविधियुक्त पूर्वाधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली, अनुभवी प्रत्यारोपण विशेषज्ञ तथा बहुविशेषज्ञीय टोलीका कारण सेन्टरले प्रत्यारोपण सेवामा आफ्नो पहिचान स्थापित गर्दै गएको अस्पतालले जनाएको छ।
किस्ट शिक्षण अस्पतालले आगामी दिनमा पनि नेपालमै सुरक्षित, गुणस्तरीय र सहज पहुँचयोग्य कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्दै स्वास्थ्य सेवामा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया दिनुहोस्