Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
विज्ञापन
Advertisement

चितवन । चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार १० हजार ५२३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये २१६ जना चितवनका र ५८ जना अन्य जिल्लाका रहेका छन्।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। भरतपुर महानगरपालिकामा ५६, खैरहनी नगरपालिकामा ३५, राप्ती नगरपालिकामा २१, कालिका नगरपालिकामा ११, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ।

गत आर्थिक वर्षमा भने चितवनमा डेङ्गुको सङ्क्रमण निकै उच्च रहेको थियो। सो अवधिमा १७ हजार ३५३ जनाको परीक्षण गर्दा तीन हजार ८८९ जनामा डेङ्गु पुष्टि भएको थियो भने एक जनाको मृत्यु समेत भएको थियो।

स्वास्थ्यकर्मीका अनुसार वर्षा र घाम दुवै हुने मौसमले लामखुट्टेको वृद्धि हुने भएकाले विशेषगरी भदौ र असोज महिनामा डेङ्गुको जोखिम बढी रहने गर्दछ। डेङ्गु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जसले प्रायः बिहान र बेलुकाको समयमा मानिसलाई टोक्ने गर्दछ।

डेङ्गु सङ्क्रमण भएपछि उच्च ज्वरो आउने, टाउको तथा आँखाको गेडी दुख्ने, शरीर, जोर्नी र मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिबिरा देखिने तथा नाक वा गिजाबाट रगत बग्ने जस्ता लक्षण देखिन सक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयले डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर वरिपरि पानी जम्न नदिन तथा पुराना टायर, खाली ड्रम, गमला, टिनका डब्बा र खुला पानीका ट्याङ्की नियमित रूपमा सफा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit