काठमाडौं । नेपालमा पहिलो पटक ‘‘1st AAC Conference: Building Sustainable Future’नामक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। निर्माण क्षेत्रमा वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको हो।
परम्परागत रूपमा प्रयोग हुँदै आएको रातो इँटाको प्रभावकारी विकल्पका रूपमा Autoclaved Aerated Concrete (AAC) ब्लक लाई मानिन्छ। कम तौल, उच्च तापीय इन्सुलेसन, कम कार्बन उत्सर्जन, ऊर्जा बचत, र भूकम्प प्रतिरोधी विशेषताका कारण पछिल्लो समय नेपालमा यसको प्रयोग बढ्दै गएको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७९ सालमा एएसी ब्लक उत्पादन र प्रयोगसम्बन्धी नियमावली पारित गरिसकेको छ।
नेपालमा एएसी ब्लक उद्योगको अवस्था
हाल नेपालमा चारवटा एएसी ब्लक उद्योग सञ्चालनमा छन् भने दुईवटा थप उद्योग स्थापनाको तयारीमा छन्। यस क्षेत्रमा ४०० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ५,००० जनाले रोजगारी पाइरहेका छन्। नेपालमा वार्षिक रूपमा ४५ करोड वटा रातो इँटाको कारोबार हुने गरेको छ, जुन परिमाणलाई प्रतिस्थापन गर्ने लक्ष्य एएसी उद्योगहरूको रहेको छ। वर्तमानमा २,२०० घनमिटर उत्पादन क्षमता रहेको यी उद्योगहरू नेपालमा पछिल्लो १० वर्षदेखि सक्रिय छन्।
नेपालमा एएसी ब्लक उद्योगको विस्तार, गुणस्तर सुधार, र वातावरणमैत्री निर्माण सामग्रीलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनमा निर्माण व्यवसायी, नीति निर्माताहरू, इन्जिनियरहरू तथा अन्य सरोकारवालाहरू सहभागी हुनेछन्। एएसी ब्लकको व्यावसायिक उपयोगिता, वातावरणीय लाभ, र यसको भविष्यबारे विस्तृत छलफल गरिने जनाइएकाे छ ।

















प्रतिक्रिया दिनुहोस्