काठमाडौं । नेपालमा जलवायु–उत्थानशील मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक होल्डिङ्स कर्पोरेसन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) बीच साझेदारी भएको छ।
साझेदारीअन्तर्गत जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) का स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन उपलब्ध गराइने भएको छ। यसले जलवायुजन्य विपद् तथा विद्युत् अवरोधको समयमा समेत मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मंगलबार काठमाडौं र जापानको टोकियोका प्रतिनिधिहरूलाई जोडेर अनलाइन माध्यमबाट सम्झौता हस्ताक्षर सम्पन्न भएको हो। यो पहल जापान सरकारको आर्थिक सहयोगमा यूएनएफपीए नेपालद्वारा सञ्चालन भइरहेको ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजनाकै एक हिस्सा हो।
यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले दुर्गम तथा विपद् जोखिममा रहेका समुदायमा स्वास्थ्य सेवाको निरन्तरताका लागि सोलार लालटिन सहयोग महत्वपूर्ण हुने बताए। ‘यी सोलार लालटिनहरूले विद्युत् अवरुद्ध भएको अवस्था र आपतकालीन समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित मातृ तथा नवजात शिशु हेरचाह सेवा प्रदान गर्न सहयोग गर्नेछन्,’ उनले भने।
प्यानासोनिकको संस्थागत नागरिकता कार्यालयकी महाप्रबन्धक अकियो दोमोतोले कम्पनीको ‘लाइट अफ द फ्युचर’ पहलअन्तर्गत विद्युत् पहुँच नभएका समुदायमा दिगो विकास प्रवर्द्धन गर्ने प्रतिबद्धता रहेको बताइन्। उपलब्ध गराइने सोलार लालटिनबाट सम्बन्धित स्वास्थ्य संस्थामा मातृ तथा नवजात शिशु सेवा बिना अवरोध सञ्चालन गर्न सहयोग पुग्नेछ। यसबाट वार्षिक रूपमा करिब ४७ हजार ८९८ महिला तथा नवजात शिशुहरू लाभान्वित हुने अनुमान गरिएको छ।
सोलार लालटिनले स्वास्थ्य संस्थाभित्र उज्यालो व्यवस्थापन सुधार गर्नुका साथै रात्रीकालीन स्वास्थ्य प्रेषण सेवा र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको गृहभेट कार्यक्रमलाई समेत सहज बनाउनेछ। यूएनएफपीएका अनुसार यस परियोजनाअन्तर्गत हालसम्म २० वटा स्वास्थ्य संस्थाको मूल्याङ्कन गरिएको छ भने जलवायु उत्थानशीलता सुधार गर्न १० वटा स्वास्थ्य संस्थाको जीर्णोद्धार गरिएको छ। साथै नौ वटा जलवायु–अनुकूलन स्थानीय तह योजनाको निर्माणमा समेत सहयोग गरिएको छ।
सन् २०२२ देखि प्यानासोनिकले यूएनएफपीएसँग सहकार्य गर्दै अफ्रिका र एसियाका विद्युत् पहुँच नभएका समुदायमा सोलार लालटिन वितरण गर्दै आएको छ। सन् २०१३ मा सुरु भएको कम्पनीको ‘लाइट अप द फ्युचर’ पहलअन्तर्गत हालसम्म ३६ देशमा करिब १ लाख ३० हजार सोलार लालटिन वितरण भइसकेको कम्पनीले जनाएको छ।
नेपालमा सञ्चालन भइरहेको मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार परियोजना जापान सरकारको आर्थिक सहयोगमा यूएनएफपीए नेपालले जाजरकोट र रौतहट जिल्लामा कार्यान्वयन गरिरहेको छ।















प्रतिक्रिया दिनुहोस्