काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा एनसेललाई सम्मान गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरे। सरकारका अनुसार आर्थिक वर्ष २०८०-८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सबैभन्दा धेरै कर तिरेर राष्ट्रको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत एनसेललाई सम्मान गरिएको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सरकारबाट यस्तो कदर पाउँदा खुसी व्यक्त गर्दै भने, ‘आईसीटीको क्षेत्रमा हाम्रो योगदानलाई कदर गर्दै यो सम्मान प्राप्त गर्नु गौरवको कुरा हो। हामी डिजिटल नेपालको भिजनअनुसार डिजिटल भविष्यका लागि निरन्तर काम गरिरहनेछौं।’
गत आर्थिक वर्षमा एनसेलले करिब २० अर्ब ३० करोड रुपैयाँ बराबरका कर तथा शुल्क सरकारलाई बुझाएको थियो। साथै, कम्पनीले एनसेल फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका सातै प्रदेशमा रु २ अर्बभन्दा बढीको लगानी गर्दै १ करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ पुर्याएको उल्लेख गरिएको छ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस हरेक वर्ष मे २ मा मनाइन्छ, जसको उद्देश्य देशको सूचना प्रविधिको विकास तथा समृद्ध डिजिटल नेपाल निर्माणमा योगदान दिने संस्थाहरूको पहिचान र प्रोत्साहन गर्नु हो।

















प्रतिक्रिया दिनुहोस्