काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आउँदो साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा देशकै सबैभन्दा व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ।
नाइमाले आयोजना गर्न लागेको यो प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता, डिलर, वितरक, उपभोक्ता, विज्ञ र सरोकारवालाबीच सकारात्मक ऊर्जा र नवीन सोच सिर्जना गर्ने अपेक्षा गरिएको छ। एक्स्पोले अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा देखिएका पछिल्ला प्रवृत्तिहरू सार्वजनिक गर्दै भविष्यमुखी अटो उद्योग निर्माणमा सहयोग पुर्याउने विश्वास आयोजकले लिएका छन्।
स्टल बुकिङ २०८२ साल वैशाख २२ देखि २९ गते (२०२५ मे ५–१२) सम्म खुला हुनेछ। इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्ना आवश्यकताअनुसार विवरण भरी स्टलका लागि आवेदन दिन सक्नेछन्। अन्तिम स्टल वितरण भने पारदर्शी लटरी प्रणालीमार्फत गरिनेछ। प्रदर्शकहरूलाई दुई र चार पांग्रे सवारीसाधन तथा हलुका व्यावसायिक गाडीहरू छुट्टाछुट्टै हलमा नराखी एउटै हलमा आफ्नो आवश्यकता अनुसार स्टल रोज्न सकिने व्यवस्था गरिएको छ।
प्रदर्शनी व्यवस्थापन अनुभवी प्रदर्शनी आयोजक संस्थाबाट गरिने बताइएको छ। विगतका प्रदर्शनीहरूको तुलनामा यसपटक थप सुधार र नवीन प्रयोग गरिने आयोजकको भनाइ छ। नाइमा हालै नाडाबाट फुटेर अटो मोबाइल वितरक, डिलरहरुको छुट्टै संगठन बनेको हो ।















प्रतिक्रिया दिनुहोस्