काठमाडौं । सानिमा रिलायन्स लाईफले सञ्चालक समितिका सदस्य, आधारभूत सेयरधनी एवं विभागीय प्रमुखहरूलाई वित्तीय प्रशिक्षण प्रदान गरेको छ।
काठमाडौंको याक एण्ड यती होटेलमा मंगलबार आयोजित सो कार्यक्रमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा १७ (क) को नियम अनुसार कम्पनीले प्रदान गर्नुपर्ने वित्तीय साक्षरता सम्बन्धमा सरोकारवालालाई प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक शाम्ब राज लामिछाने तथा उप निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरे ।
प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारीरुपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन श्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत सञ्चालक समितिको काम कर्तव्य र अधिकारलगायतका विषयमा छलफल गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको समापनमा कम्पनीका अध्यक्ष रतन लाल केडियाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा तर्जुमा गरिएको सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था भएको दायित्व पुरा गर्नुपर्नेमा जोड दिए ।
यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वबारे धारणा राख्दै कम्पनीका सबै कर्मचारी र तहमा ऐन, नियमलाई अक्षरस पालना गर्न सबै लाग्नुपर्ने बताए । उनले निर्देशिकाको अनुपालनमा आफुहरूले कुनै कसर बाँकी नराख्ने कुरा स्पष्ट पारे ।

















प्रतिक्रिया दिनुहोस्