images images images
images images images
images
images
images

न्यायको व्यग्र पर्खाइमा थकित ‘बेड नम्बर ३३’ को श्रीमती

images

कमलामाई (सिन्धुली) । कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरु थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ ।

अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार ढलेको छ । शरीरका अङ्ग अचेत छन् । आँखा खुल्दैनन् । कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ त कहिले श्वास पनि रोकिएझैँ हुन्छ ।

images
images

त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको । कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उनको स्थायी बसोबास छ । दुई वर्ष दुई महिना बित्नै लाग्यो, उनी अस्पतालको शय्याबाट उठ्न नसकेको। बिरामी तेजबहादुरका साथमा श्रीमती विमला रमौली उनको सारथी बनेर तेजबहादुरको शरिर ढलेको बेड वरपरै भेटिन्छिन् ।

तेजबहादुरको स्याहार–सुसार र पालन–पोषण उनकै भरमा छ । बिरामी श्रीमानको पीडामा पिरोलिएकी विमला बेड छेवैमा बसेर कहिले आत्तिएर नाडी समाउँछिन् त कहिले अचेत तेजवहादुरको मुहार सुम्सुम्याउँदै हुन्छिन् ।

यतिबेला उनको जीवनमा आइलागेको पीडा र अभावबीचको खाडल झन्झन् गहिरिँदै गएको छ, पीडा पोखिसाध्य छैन । माइतीमा बुबा बितेपछि आमाको अवस्था दयनीय छ । घरतर्फका बुबा–आमा वृद्ध छन् । अस्पतालमा विमलालाई सघाउने कोही छैनन् । यस्तो दुःखद परिस्थितिको सामना उनी एक्लै गरिराखेकि छिन् ।

बिरामी श्रीमानको हालत देख्दा उनको मन थामिदैन । आँखाबाट आँसु बगाउनुको विकल्पमा पीडा पोख्ने ठाउँ छैन। बेला–बेलामा उनलाई चिच्याएर रुन आउँछ । त्यसबेला बिरामी श्रीमानलाई रोएको थाहा नदिन शौचालयमा गएर रुने गरेकि छिन् । “२६ महिना भयो, रोएरै दिनरात बितिरहेको छ । म नजिक बसेर रुँदा उहाँको धड्कन बढ्छ । शौचालयमा गएर रुन्छु,” विमलाले आँखाबाट आँसुका ढिका खसाल्दै भनिन् ।

२६ महिनाअघि त तेजबहादुर र विमलाको दाम्पत्य जीवन खुसीले भरिएको थियो । चार वर्षको प्रेम सम्बन्ध विवाहमा रुपान्तरण भएको पाँच वर्ष पुगेकै थिएन । सुखी साथ बसेको परिवारका लागि सन्तान जन्माउने योजना बनाउँदै थिए यी दुई दम्पती पनि ।

२ चैत २०७९ को दिन दशा बनेर आयो यस दम्पतीको जीवनमा । तेजबहादुरले चलाएको ज८प ६४५८ नंको मोटरसाइकललाई तीनपाटन–९ का शेषराज पहाडीले चलाएको वा.प्र०१०२७च ४३७२ नंको बोलेरोले ठक्कर दियो । कमलामाईबाट तीनपाटन–११ तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही स्थानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरोले तीनपाटन–२ गैरीमा ठक्कर दिएपछि गम्भीर घाइते भएका तेजबहादुर त्यसयता कोमामा छन् ।

“तीनपाटन–११ लाम्पाङटार मेरो माइती गाउँ हो । घरबाट निस्कने बेला फोनमा म आउँदैछु, तिमी घर आउने तयारी गरेर बस, भन्नुभयो । म पर्खेर बसिरहेँ । गैरीमा उहाँ दुर्घटनामा पर्नु भएछ,” विमलाले सुनाइन । ।

उनका अनुसार तेजबहादुर दुर्घटनामा परेपछि सिन्धुलीबाट उपचारका लागि हेलिकप्टरमा काठमाडौंको हेम्स अस्पताल लगियो । त्यहाँ १० दिनमा १२ लाखभन्दा बढी खर्च भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल सारियो । त्यहाँ पनि उपचार खर्च महँगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सिन्धुली फर्काइयो । १४ महिनादेखि सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा भर्ना गरेर तेजबहादुरलाई राखिएको छ । आर्थिक अभावका कारण उपचारमा मात्रै होइन, बिरामीलाई जाउलो खुवाउनसमेत समस्या हुन थालेको विमलाले दुखेसो सुनाइन ।

विमलाका अनुसार तेजबहादुरको उपचारमा हालसम्म ५० लाख रुपैयाँ बढी खर्च भइसकेको छ । पीडक पक्षले दिने भनी सहमति गरेको उपचार खर्चसमेत पाउन सकेको छैन । गाडी चालक रहेका गाडी धनी शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा बिरामीको उपचारका लागि २० लाख रुपैयाँ दिने सहमति गरेका थिए । तर, सहमतिबमोजिम दिनुपर्ने रकममध्ये पाँच लाख मात्र दिएर बाँकी रकम पहाडीले नदिएको विमलाले बताइन ।

अब उपचारमा लाग्ने खर्च आफूले जोहो गर्न सक्ने अवस्था उनको छैन । तेजबहादुरको उपचारकै लागि ४५ लाख बढी ऋण भइसकेको छ । ब्याज बढिरहेको छ । तिर्न सक्ने आधार छैन । साहुले ऋण लिएको पैसा फिर्ता दिन दबाब दिन थालेका छन् । “बिरामीलाई एक छिन छोड्न मिल्दैन । यस्तो अवस्थामा रहेका श्रीमानलाई छोडेर पनि म कहाँ जाउँ, के काम गरौँ ?” विमलाले मलिन अनुहार लगाउँदै भनिन् ।

पीडकले सहमतिअनुसारको रकम दिन नसकेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले क्षतिपूर्तिको मुद्दा फैसला गर्न सकेको छैन । गाडी धनी तथा चालकसमेत रहेका पहाडी फरार छन् ।

यता, जिल्ला अदालत, सिन्धुलीबाट सवारीबाट अङ्गभङ्ग मुद्दा फैसला भइसकेको छ । उक्त मुद्दामा अदालतले २०८१ असार १२ गते कसुर ठहर गरेको थियो भने असार १९ गते सजाय तोकेको छ । न्यायाधीश रमेश शर्मा पौडेलको इजलासले तीन वर्ष जेल सजाय, २० हजार जरिवाना र ८०० क्षतिपूर्तिको सजाय तोकेको थियो । उक्त फैसला कार्यान्वयनमा आएको छैन ।

पीडक शेषराज पहाडी दुई महिना २७ दिन मात्र हिरासतमा बसेर निस्किएको देखिन्छ । अदालतले तोकेको बाँकी सजाय कटान गर्न बाँकी रहेको जिल्ला अदालतले गरेको फैसलामा उल्लेख छ । अदालतबाट सवारी अङ्गभङ्ग मुद्दा फैसला भई सजाय तोकिए पनि मुद्दा चल्दा धरौटीमा छुटेका शेषराज फेरि पक्राउ परेका छैनन् ।

यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेको क्षतिपूर्तिसम्बन्धी मुद्दा चालु अवस्थामा छ । पीडक र पीडितबीच भएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त मुद्दा फैसला गरेको छैन । सहमतिअनुसार तीन किस्तामा पीडित पक्षलाई उपचार खर्च दिने उल्लेख भएको छ । चार महिनाभित्र अर्थात् २०८१ साउनसम्म तीन किस्तामा रकम भुक्तानी गर्नुपर्ने भए पनि हालसम्म उक्त रकम पाउन नसकेको विमलाले बताइन ।

गत वैशाखमा उपचार खर्च दिलाइदिन, दोषीलाई कारबाही गर्न र पीडितलाई न्यायको माग गर्दै विमला बिरामी श्रीमानसहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बसिन, तर, अवस्था परिवर्तन भएन । प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले पीडित पक्षलाई शान्त गराउँदै पीडकको खोजी भइरहेको बताए। तर, चाँडो न्याय पाउने सम्बन्धित निकायको आश्वासनको प्रतीक्षामा रहेकी विमलाको धैर्यताको परिक्षा अझै कति लामो समय हुने हो उनि बेखबर छिन् । रासस  

 

images
images

प्रतिक्रिया दिनुहोस्