Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

राजस्व संकलन लक्ष्यभन्दा १० प्रतिशतले कम भएपछि पर्सामा चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

राजस्व संकलन लक्ष्यभन्दा १० प्रतिशतले कम भएपछि पर्सामा चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ
विज्ञापन
Advertisement

वीरगञ्ज (पर्सा) । पर्सामा अवैध चोरी पैठारी र निकासी नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडाइ गरिएको छ । चालु आर्थिक वर्षको दुई महिना बित्दा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेन ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागले कार्यालयलाई चालु आवको दुई महिनामा ४३ अर्ब तीन करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले लक्ष्यको ९० दशमलव ९९ प्रतिशत अर्थात् ३९ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको हो ।

भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले चोरी तस्करी नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताए । पर्साको सीमा क्षेत्रमा हुने चोरी तस्करी रोक्न अग्रपंक्तिमा सशस्त्र प्रहरी बल नेपाल र दोस्रो तहमा नेपाल प्रहरी खटिएका हुन्छन् । वीरगञ्ज भन्सार कार्यालय र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका अनुसार पर्सामा सबैभन्दा धेरै भन्सार छली हुने सामानमा महङ्गा खालका तयारी कपडा, थान कपडा, झ्यालको पर्दा, जुत्ता–चप्पल र तन्ना छन् ।

त्यसैगरी कुखुराको अण्डा, कुखुराको चल्ला र कुुखुरा, माछा, सुक्खा सिध्रा माछा पनि भन्सार छली हुने गरेका छन्। मोबाइल, हार्डवेयर तथा बाथरुम फिटिङ्स, किचनका सामानहरु, रङरोगनका सामान पनि भारतीय सीमावर्ती बजारबाट धेरै भित्रिने गर्छन् ।

साइकल, मोटरसाइकलको टायर ट्युब, मोटरपार्टस, इलेक्ट्रिक उपकरण र तिनका पार्टपुर्जा भन्सार छली गरी नेपाल भित्रिने गर्छन्। पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले बिलबीजक बिना मालवस्तु ओसार्ने प्रवृत्ति देखिएको बताए ।

‘भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न फार्महरु दर्ता गरी त्यहीमार्फत तस्करी गर्ने पनि विभिन्न समयमा भेट्टिएको छ,’ उनले भने, “नेपाल÷भारतका नागरिक–एउटाले तस्करीका सामान ओसार्ने र त्यसलाई वैधता दिन बिल मात्र किन्ने, बिलको किनबेच खालका पनि गतिविधि बेलाबखतमा देखिएको छ ।’ प्रमुख शर्माले भन्सारमा गलत घोषणा, मूल्य÷तौल कम गरी आयात–निर्यात हुने गरेको बताए ।

उनका अनुसार पर्साको सहरी र ग्रामीण क्षेत्रमा चाडपर्व लक्षित तथा जेनजीको प्रदर्शनका अवधिमा पनि केही स्थानमा चोरी तस्करी भएको गुनासो आएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जेनजी प्रदर्शनका क्रममा बजार केन्द्रित सुरक्षा दिएकामा त्यसपछि ग्रामीण क्षेत्रमा सुरक्षा केन्द्रित गरिएको बताए । उनले भने, ‘सङ्गठित रुपमा अवैध चोरी पैठारी तथा निकासी गर्नेलाई कडाइ गर्दै आइरहेका छौँ ।’

यद्यपि पर्साको अलौँ, अमरपट्टि, भिष्वा, सिर्सिया, जानकीटोलालगायत स्थानमा धेरै चोरी तस्करी हुने गरेको छ । जिल्ला प्रहरी मातहत ७१ वटा प्रहरी युनिट छन् ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वार्टर पर्सामा छ। सो मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म पाँचवटा छन् । बोर्डर आउट पोष्ट १२ र एफओवी तीन र सुरक्षा बेस भने नौवटा छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका गणपति पुरनचन्द्र भट्टले ग्रामीण क्षेत्रमा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि रातको समयमा पनि गस्ती बढाउँदै आइरहेको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर लम्सालले चोरी तस्करी र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको दाबी गरे । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit