काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको १३औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
संस्थाले १३ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयदेखि सबै शाखा कार्यालयसम्म विविध कार्यक्रम सञ्चालन गरेको छ। नुवाकोटको बट्टारमा २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा स्थापना भएको मेरो माइक्रोफाइनान्सले छोटो अवधिमा उल्लेखनीय प्रगति गर्न सफल भएको जनाएको छ ।
स्थापनाको पहिलो वर्षमा १५ शाखामार्फत १४ हजारभन्दा बढी घरपरिवारलाई वित्तीय पहुँच दिलाएको संस्थाले हालसम्म देशका ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५३ हजारभन्दा बढी घरपरिवारसम्म सेवा विस्तार गरेको छ । हालसम्म संस्थाले ३ अर्ब ९८ करोड निक्षेप संकलन गरी १५ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गर्न सफल भएको जनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो अवधिमा संस्थाले पाएको सफलता ग्राहकको माया, नियमनकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यहरूको भरोसा र कर्मचारीहरूको अतुलनीय योगदानको परिणाम भएको बताए। दाहालले हाल संस्थाको छवि माइक्रोफाइनान्स क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गरे ।
उनका अनुसार संस्थाले कारोबार विस्तारसँगै जोखिम व्यवस्थापनलाई पनि प्रभावकारी रूपमा अघि बढाएको छ। हाल संस्थाले ८ वटा विभाग, ७ वटा प्रदेशीय संरचना र १९ वटा अनुगमन स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गर्दै आएको जनाएको छ ।
देशका ७ बाणिज्य बैंक र १ विकास बैंकको संयुक्त लगानीमा प्रवर्द्धन भएको मेरो माइक्रोफाइनान्सले ग्राहकका आवश्यकताअनुसार बचत, कर्जा, बीमा र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी र धितो कर्जाका विभिन्न योजना सञ्चालन गर्दै आएको छ भने डिजिटल पहुँच बढाउँदै मोबाइल बैंकिङ र एसएमएस बैंकिङ सेवा पनि प्रदान गरिरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्