काठमाडौं । नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकले नेपालमा श्रवण तथा वाक् हेरचाह उपचार क्षेत्रमा सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको छ।
झण्डै डेढ दशकदेखि क्लिनिकले श्रवण परीक्षण, श्रवण यन्त्र जडान, कक्लियर इम्प्लान्ट सेवा, बोली तथा भाषा उपचार, परामर्श र नियमित अनुगमन सेवामार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
काठमाडौंको थापाथलीमा मुख्य कार्यालय रहेको क्लिनिकका शाखाहरू विराटनगर, पोखरा र नेपालगञ्जमा सञ्चालनमा रहेका छन्। यसका साथै भक्तपुर ठिमीस्थित बीपीआई फाउन्डेसन, पुल्चोकस्थित आरस लाइफस्टाइल हस्पिटल तथा ग्वार्कोस्थित बीएनबी हस्पिटलमा समेत आफ्नै श्रवण परीक्षण केन्द्रमार्फत सेवा दिँदै आएको छ।
क्लिनिकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको ध्वनिरोधी श्रवण परीक्षण कक्ष रहेको छ। उक्त कक्षमा उच्च गुणस्तरीय ध्वनि नियन्त्रण सामग्री, दुई तहको ध्वनि अवरोध गर्ने भित्ता, कम्पन नियन्त्रण गर्ने भुइँ प्रणाली तथा ध्वनि नछिर्ने ढोका प्रयोग गरिएको छ। यसले श्रवण परीक्षणलाई अझ सटीक र भरपर्दो बनाउन सहयोग पुर्याएको क्लिनिकले जनाएको छ। १५ वर्षको अवधिमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकले ६० भन्दा बढी कक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी श्रवण यन्त्र जडान तथा ४० हजारभन्दा बढी श्रवण परीक्षण सम्पन्न गरिसकेको उल्लेख गरेको छ।

क्लिनिकले सेवाग्राहीको आवश्यकता अनुसार श्रवण यन्त्र छनोट, जडान, मिलान तथा परामर्शसँगै वारेन्टी, नियमित अनुगमन, प्राविधिक सहयोग, मर्मतसम्भार र दीर्घकालीन सेवा प्रदान गर्दै आएको छ। क्लिनिकका अध्यक्ष तथा संस्थापक पुरुषोत्तम भुर्तेलको नेतृत्वमा हाल ३५ जनाभन्दा बढी विशेषज्ञ तथा कर्मचारी कार्यरत छन्। जसमा श्रवण विशेषज्ञ, बोली तथा भाषा उपचार विशेषज्ञ, व्यवस्थापन र सञ्चालन टोली रहेका छन्।
१५ वर्षको सेवा यात्रा क्लिनिकका लागि सेवा, विश्वास र व्यावसायिक उत्कृष्टताको महत्वपूर्ण उपलब्धि भएको संस्थाले जनाएको छ। आगामी दिनमा पनि आधुनिक प्रविधि र सेवाग्राही केन्द्रित उपचार प्रणालीमार्फत श्रवण तथा बोली उपचार सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने लक्ष्य क्लिनिकले लिएको छ।















प्रतिक्रिया दिनुहोस्