काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच बुधबार भएको सम्झौतालाई कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा भएको सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि सम्झौता गर्न नमिल्ने बताए। उनले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्यान्डेट जेनजी सरकारसँग नभएको उल्लेख गर्दै प्रश्न गरे। ‘हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्यान्डेट कहाँबाट पायो?’ ओलीले प्रश्न गरे ।
शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै आन्दोलनका पक्षधरले उठाएका विभिन्न मागहरुलाई राज्यले सम्बोधन गर्ने गरि बुधबार साँझ दुई पक्षबीच १० बुँदे सहमति कायम भएको थियो । सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । सोही सन्दर्भमा ओलीले दुई पक्षबीचको सम्झौतालाई भद्दा मजाकको संज्ञा दिएका छन् ।
‘विघटित संसद्लाई जनसमर्थन गुमाएको संसद भनेर सम्झौतामा भनिएको छ। त्यो यथार्थ होइन । असान्दर्भिक र अराष्ट्रिय भावना बोकेकाहरुले परिस्थितिलाई विध्वंशका माध्यमबाट आफ्नो कब्जामा लिन खोजेका मात्रै हुन् । त्यसकारण यो सरकारलाई यस प्रकारको सम्झौता गर्ने जनादेश छैन ।’
सरकार र जेनजीबीच भएको उक्त सम्झौताप्रति असन्तुष्टि जनाउँदै बुधबार केही जेनजी प्रतिनिधिले सम्झौता च्यातेर विरोध गरेका थिए । ओलीले उक्त सम्झौता जेनजीबीचमै सर्वस्वीकार्य नभएकोमा जोड दिँदै त्यसलाई नाटकको संज्ञा दिएका हुन् । ‘गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो’ ओलीले टिप्पणी गरे ।
यस्तै उनले आन्दोलनको क्रममा आफू भागेको भनेर गरिएका टिप्पणीहरू प्रति समेत आपत्ति जनाएका छन् । उनले ‘नभागेको भए के गर्नुहुन्थ्यो ?’ भनेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न समेत गरे । यस्तै, ओलीले अन्तरिम सरकार असंवैधानकि सरकार भएको टिप्पणी समेत गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्