images images images
images images images
images
images
images

आजदेखि निर्वाचन सुरक्षामा खटिए सेना, चुनावमा कसरी सम्हाल्दैछन् सुरक्षा निकायले कमाण्ड ?

images

काठमाडौं। यतिबेला देश निर्वाचनमा होमिएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा सरकार, राजनीतिक दल, सुरक्षा निकाय र जनतासँगै सिङ्गो राष्ट्रको ध्यान फागुन २१ को चुनावमा केन्द्रित देखिन्छ । देशमा गत भदौमा भएको राजनीतिक परिवर्तनपछि विशेष परिस्थितिमा हुन गैरहेको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको संयोजनमा चारओटै सुरक्षा निकाय परिचालित हुँदैछन्।

निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा थ्रेटलाई लिएर कतिपय दलका नेता तथा सरोकारवालाले ढुक्क हुन नसकेको बताउँदै आएका छन् । यसैबीच नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि नै परिचालित हुँदैछ। निर्वाचन सुरक्षालाई केन्द्रित गरी सेनाले आजैदेखि संयुक्त गस्ती थाल्ने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूपमा परिचालित हुन लागेका हुन्। निर्वाचन सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिदैछन् ।

images
images

कसरी गर्दैछन् सेना प्रहरीले निर्वाचन सुरक्षा प्रबन्ध ? 

निर्वाचनमा नेपाली सेनाले सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ। जसका लागि सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको प्रवक्ता बस्नेतले जानकारी दिए। निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा सुरक्षा प्रदान गर्नेछ। निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले नै सम्हाल्नेछ ।

यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि सेनाले नै गर्नेछ । मतदानको दिन निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा सेनाले तेस्रो घेरामा बसेर राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षा प्रदान गर्नेछ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन्। साथै, निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिइनेछन् । सशस्त्र प्रहरीतर्फ ३४ हजार पाँच सय ७६ जना र १५ हजार एक सय १० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार छ सय ८६ जना परिचालित हुँदैछन्।

नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सो बलले नेपाली सेना र नेपाल प्रहरीको बीचमा रहेर समन्वय गर्नेछ।

निर्वाचन क्षेत्र कति संवेदनशील ?

निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनका लागि देशभर १० हजार नौ सय ६७ मतदानस्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र रहनेछन्। सो मध्ये दुई हजार आठ सय ४५ ओटा मतदानस्थल सुरक्षा संवेदनशिलताको हिसावले सामान्य रहेको निर्वाचन आयोगले जनाएको छ । तर, चार हजार ४४२ मतदानस्थल संवेदशील र तीन हजार छ सय ८० वटा मतदानस्थललाई अति संवेदनशील रूपमा हेरिएको छ।

एक करोड ८९ लाख बढी जनतासँग मताधिकार

आसन्न निर्वाचनमा तीन हजार चार सय छ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ । १६५ जना प्रत्यक्ष उम्मेद्वार चयन गर्न कूल एक करोड ८९ लाख तीन हजार छ सय ८९ जना मतदाताले भोट हालेर प्रतिनिधि चयन गर्ने मताअधिकार पाएका छन्। जसमा ९२ लाख ४० हजार एक सय ३१ महिला, ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष र दुई सय अन्य रहेका छन् ।

विसं २०१५ देखि २०७९ सम्म देशमा आठ आमनिर्वाचन सम्पन्न भैसकेका छन् । ती सबै निर्वाचनमा नेपाली कांग्रेसले २०१५ सालको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएको थियो । निर्वाचन आयोगका अनुसार त्यसपछि २०४८ र २०५६ सालमा पनि कांग्रेसले बहुमत प्राप्त गरेको थियो। पछिल्लो समयमा देशले अपनाएको राजनीतिक व्यवस्थाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा कुनै एक दलले मात्र एकल बहुमत ल्याउन सहज भने छैन्।

निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन तथा जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्