काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्यापिटलले मुद्रा बजार र पूँजी बजारका विषयमा विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।
गत शुक्रबार (चैत्र ६ गते) आयोजित उक्त कार्यक्रममा यस वर्षको विश्वव्यापी नारा Smart Money Talks मा केन्द्रित रही छलफल गरिएको थियो। कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले विद्यार्थी जीवनदेखि नै बचत गर्ने बानीको विकास र त्यसलाई सही ठाउँमा लगानी गर्ने उपायबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक रायमाझीले विद्यार्थीहरूले आफ्नो सानो बचतलाई कसरी उत्पादनशील क्षेत्रमा लगाउन सक्छन ? शेयर बजारमा प्रवेश गर्न डिम्याट र बैंक खाता खोल्ने प्रक्रिया, प्राथमिक शेयर आईपीओ, दोस्रो बजारमा शेयर कारोबार, र सामूहिक लगानी कोषका फाइदाहरूबारे जानकारी दिएको जनाइएको छ। यस्तै, व्यवस्थित लगानी योजना मार्फत भविष्यका लागि एसआईपी पुँजी निर्माण गर्ने तरिका, दोस्रो बजारमा सूचीकृत कम्पनीहरू छनोट गर्दा ध्यान दिनुपर्ने पक्षहरू र वित्तीय सुरक्षा, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रावधान र कारोबार गर्दा अपनाउनुपर्ने सावधानीलगायतका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सो प्रशिक्षणमा मेलम्ची भ्याली क्याम्पसका २२० जनाभन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । एन आई सी एशिया क्यापिटलले स्थापनाकालदेखि नै यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र आगामी दिनमा पनि पूँजी बजारको पहुँच ग्रामीण तहसम्म पुर्याउन यस्ता पहलहरू जारी राख्ने जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्