काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रतिनिधि सभा बैठकमा सहकारी ठगी प्रकरणका अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको खोजी गरेका छन् ।
एक दर्जनभन्दा बढी सहकारी संस्थाबाट सर्वसाधारणको २१ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेर फरार रहेका जीबी राईलाई कहिले पक्राउ गरिन्छ भन्दै उनले सरकारलाई प्रश्न गरेका हुन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राईले सहकारी पीडित र किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै भने, ‘जीबी राई कहिले पक्राउ हुन्छ सरकार ? किसानहरूका समस्या समाधान व्यवहारमै हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छ ?’
सांसद राईले सहकारी पीडितहरूले आफ्नो बचत फिर्ता पाउनुपर्ने मागमा जोड दिए पनि त्यसका लागि राज्यकोष वा जनताले तिरेको करको दुरुपयोग गर्न नहुने बताए । ‘सहकारी पीडितहरूले पैसा पाउनुपर्छ भनेर हामी जोडदार माग गर्दछौं, तर जनताले तिरेको करबाट होइन, राज्यकोषबाट होइन,’ उनले थपे, ‘सरकारले सहकारी बैंक र अन्य व्यावसायिक व्यक्तिहरूले डुबाएको पैसा सरकारले नै तिरिदिने नीति लिएको हो ?सरकार, मेरो प्रश्न छ ।’
यसैगरी, उनले सुकुम्बासी नागरिकहरूको उचित व्यवस्थापनका लागि पनि माग गरेका छन् । सुकुम्बासीहरूलाई राज्य आफ्नो साथमा रहेको बलियो अनुभूति हुने गरी सरकारले तत्काल व्यवस्थापनको कदम चाल्नुपर्नेमा उनले जोड दिए।

















प्रतिक्रिया दिनुहोस्