काठमाडौं । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे जानकारी गराएका छन् ।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी जानकारी राष्ट्रपति पौडेललाई गराएका हुन् ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले संसद्मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०८२-८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।
सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार (जेठ १५ गते) अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. वाग्लेले संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार बजेट लेखन, स्रोत व्यवस्थापन तथा अन्तिम समायोजनका काम लगभग सम्पन्न भइसकेका छन् । यससँगै सरकारले आगामी वर्षका लागि राजस्व परिचालन, पुँजीगत खर्च, निजी क्षेत्र प्रवर्द्धन तथा आर्थिक सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्