Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सडक पूर्वाधारमा बजेट : महत्वकांक्षी योजना छाडेर भएकै आयोजनालाई प्राथमिकता

सडक पूर्वाधारमा बजेट : महत्वकांक्षी योजना छाडेर भएकै आयोजनालाई प्राथमिकता
विज्ञापन
Advertisement

 काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले पूर्वाधारमा बजेटको प्राथमिकतालाई ठुलो महत्वकांक्षी योजनाभन्दा पनि भएकै विकासका आयोजनालाई प्राथमिकता दिएका छन्। आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेटमार्फत सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै राजमार्ग स्तरोन्नति, सुरुङमार्ग, पुल निर्माण, कोरिडोर विस्तार तथा सडक मर्मतमा बजेट विनियोजन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले आगामी वर्ष करिब १ हजार किलोमिटर सडक कालोपत्रे तथा २७५ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको छ। पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने योजना अघि बढाइएको छ। यस अन्तर्गत कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति यसै वर्ष सम्पन्न हुने जनाइएको छ। आगामी वर्ष काँकडभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरूसिङ्गे तथा धानखोला–लमही गरी ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ ।

पूर्व–पश्चिम राजमार्ग परियोजनाका लागि सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।
काठमाडौं–तराई मधेश द्रुतमार्गअन्तर्गत आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिनेछ। द्रुतमार्गको लिङ्क रोड निर्माण पनि सुरु गरिनेछ। यस परियोजनाका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसअन्तर्गत ८ वटा सडक पुल निर्माण सम्पन्न गरिनेछ। हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडक स्तरोन्नतिका लागि १ अर्ब रुपैयाँ व्यवस्था गरिएको छ भने पुष्पलाल मध्यपहाडी राजमार्गमा ६५ किलोमिटर सडक स्तरोन्नति तथा ५ वटा पुल निर्माणका लागि २ अर्ब १६ करोड रुपैयाँ छुट्याइएको छ। मदन भण्डारी राजमार्गमा २५ किलोमिटर सडक कालोपत्रे र पुल निर्माणका लागि १ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नतिका लागि ९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा चार लेन सडक निर्माणलाई तीव्रता दिइनेछ भने नागढुङ्गा–मुग्लिङ खण्डमा ४० किलोमिटर सडक स्तरोन्नति गरिनेछ। नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने सरकारको घोषणा छ। यस सडक खण्डका लागि ६ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कर्णाली, कालीगण्डकी र कोशी कोरिडोरमा सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि ६ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ। गल्छी–स्याफ्रुबेशी–रसुवागढी सडक स्तरोन्नतिका लागि १ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा निर्माण सुरु गरिनेछ भने सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

काठमाडौं चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धरा खण्ड विस्तार कार्य सुरु गरिनेछ भने बसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिनेछ। सरकारले टोखा छहरे, मुलसाम–टोपला लगायत विभिन्न सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

सडक सुरक्षाका लागि ट्राफिक संकेत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर तथा डिभाइडर जडानका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, काठमाडौं उपत्यकासहित प्रमुख सहरी सडकलाई धुलोमुक्त तथा खाल्टाखुल्टीमुक्त बनाउन राष्ट्रव्यापी सडक मर्मत अभियान सञ्चालन गरिनेछ। यसका लागि २८ अर्ब ५२ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

पहिरो तथा जलवायु जोखिमयुक्त क्षेत्रमा संरचना निर्माण तथा राजमार्ग अवरोध तत्काल हटाउन ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यातायात प्रणालीलाई आधुनिक बनाउन महिलाको सुरक्षित आवागमनका लागि सिसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालनको तयारी पनि सरकारले गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit