काठमाडौं। काठमाडौं महानगरपालिकाको सहकारी विभागमा ४ अर्ब ७७ करोड ४९ लाख रुपैयाँभन्दा बढी बचत रकम फिर्ता गराइदिन माग गर्दै ६ हजार ३०० बचतकर्ताले निवेदन दिएका छन्।
महानगरको सहकारी विभागका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म प्राप्त उजुरीका आधारमा उक्त रकम फिर्ताको माग गरिएको हो। बचत फिर्ता माग्नेहरूमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार उजुरी दिने बचतकर्तामध्ये ७८ प्रतिशतको बचत रकम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म रहेको छ। दैनिक रूपमा ५०० देखि एक हजार रुपैयाँसम्म बचत गर्ने साना बचतकर्ताको संख्या उल्लेख्य रहेको उनले बताए। महानगरले बचतकर्ताको रकम फिर्ता गराउन सहकारी संस्था र बचतकर्ताबीच छलफल तथा मेलमिलापको प्रक्रिया अघि बढाइरहेको जनाएको छ। वडास्तरमा समस्या समाधान नभए विभागले प्रत्यक्ष समन्वय गर्ने र आवश्यक परे कारबाहीका लागि सिफारिससमेत गर्ने व्यवस्था रहेको विभागको भनाइ छ।
यसैबीच, कामपा–६ मा रहेको बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले हालै ३४ जना बचतकर्ताको एक लाख ५० हजार रुपैयाँसम्मको बचत रकम फिर्ता गरेको छ। उक्त सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको छ। महानगरले ठूला बचतकर्ताको रकम फिर्ताका लागि ऋणीसँग समन्वय गर्दै ऋण असुली र बचत फिर्ता दुवै प्रक्रिया सँगसँगै अगाडि बढाएको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्