काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलमा जवाफ दिने क्रममा संसद् र संसदीय समितिप्रति धम्कीपूर्ण शैली अपनाएको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले अर्थमन्त्रीको अभिव्यक्तिले संसद् र समितिको अवमूल्यन गरेको आरोप लगाए। उनले अर्थमन्त्री कार्यपालिकाका सदस्य भएकाले संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने बताए। ‘हामीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिएका थियौं। तर सार्वजनिक लेखा समिति र आर्थिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा उहाँले दिएको जवाफले संसद् र समितिको अवमूल्यन गरेको छ। धाकधम्की र दबाबको भाषा प्रयोग गर्ने प्रयास भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ,’ पुनले भने।
उनले अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेको कुरा स्वयं स्वीकार गरेको दाबी गर्दै त्यसलाई गम्भीर विषयका रूपमा चित्रण गरे। ‘अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेको खुला रूपमा स्वीकार गर्नुभएको छ। हामीले पहिले आरोप मात्र लगाएका थियौं, तर उहाँले आफैं स्वीकार गर्नुभयो। संसद्लाई चुनौती दिने र धम्की दिने शैली उचित होइन,’ उनले भने पुनले अर्थमन्त्रीको अभिव्यक्तिले संसद्को मानहानी भएको समेत दाबी गरे।
यसैबीच उनले प्रधानमन्त्रीले जेठ १७ गते राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। उक्त विषयमा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिने प्रयास गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो।
प्रधानमन्त्रीले नै संसद्मा आएर जवाफ दिनुपर्ने माग गर्दै पुनले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखको रुलिङ आवश्यक रहेको बताए।

















प्रतिक्रिया दिनुहोस्