काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश अहिले आतंक, भय र त्रासको वातावरणमा चलिरहेको टिप्पणी गरेका छन् ।
बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले देशमा स्वेच्छाचारी शासन सञ्चालन भइरहेको र असंवैधानिक तथा गैरकानुनी गतिविधि बढिरहेको दाबी गरे । उनले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै मुलुक फासीवाद, दमन र प्रतिशोधतर्फ अघि बढिरहेको आरोप लगाए। उनले भने, ‘अहिले देश आतंकको छायामुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक गैरकानुनी क्रियाकलापको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ ।’
अध्यक्ष ओलीले देशको आर्थिक अवस्था पनि कमजोर बन्दै गएको बताए। आर्थिक गतिविधि अधोगतितर्फ उन्मुख रहेको र सामाजिक मूल्यमान्यता खस्किँदै गएको उनको भनाइ छ। ‘आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ। समाज अत्यन्तै उल्टो बाटोतिर धकेलिँदै गएको छ। सांस्कृतिक हिसाबले हाम्रो भाष संस्कृतिमाथि हमला भइरहेको छ,’ ओलीले थप भने,‘ बैंकमा खर्बौं पैसा जम्मा भएको छ, त्यो पैसाको प्रयोग भएको छैन् । सकार बनेको यतिका समय भैसक्यो केही भएकै छैन् । सरकारजनताप्रति उत्तरदायी भएन।’
यसैगरी, उनले प्रतिनिधिसभासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । विगतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतबाट भएका फैसलाहरू स्वीकार गर्दै आएको उल्लेख गर्दै उनले अहिले प्रतिनिधिसभाको संवैधानिक अवस्थाबारे अदालतले निर्णय नगरेको आरोप लगाए । ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफूअनुकूल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौँ। अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधि सभा संवैधानिक होइन जस्तो गरेको छ। कुनै फैसला गर्दैन,’ ओलीले भने ।
ओलीले अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकायका रूपमा व्यवहार नगरेको भन्दै न्यायिक प्रक्रियामाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।















प्रतिक्रिया दिनुहोस्