काठमाडौं। पूर्वक्रिकेटर तथा क्यान सचिव पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
ह्याम्स ग्रुप (एचएएमएस) अन्तर्गतको अटोमोबाइल व्यवसायिक इकाई हाइली एड्भान्स्ड मोटर्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सचिव खड्कालाई क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो । काठमाडौंको टेकुस्थित क्यूजे मोटरको शोरुममा आज आयोजित विशेष हस्ताक्षर समारोहबीच खड्कालाई औपचारिक रूपमा ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो ।

यस सहकार्यलाई नेपालमा क्यूजे मोटरको व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। सन् १९८५ मा गिली समूहअन्तर्गत स्थापना भएको क्यूजे मोटर अन्तर्राष्ट्रिय बजारमा इन्जिनियरिङ, नवीन प्रविधि र गुणस्तरीय मोटरसाइकल उत्पादनका लागि परिचित छ। ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खड्काले विश्वास र विश्वसनीयता खेलकुददेखि दैनिक जीवनसम्म उत्तिकै महत्वपूर्ण हुने बताए। कुनै पनि ब्रान्डले उपभोक्तालाई दिने अनुभव र विश्वासकै आधारमा आफ्नो पहिचान स्थापित गर्ने उनको भनाइ छ।

क्यूजे मोटरसँग आबद्ध हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले नेपालमा ब्रान्डको आगामी यात्राको हिस्सा बन्न उत्साहित रहेको बताए । एचएएमएस समूहका अध्यक्ष आरएस भण्डारीले समूहको व्यावसायिक यात्रा विश्वास, प्रतिबद्धता र दीर्घकालीन सम्बन्धमा आधारित रहेको बताए। क्यूजे मोटरसँगको सहकार्यले नेपाली ग्राहकलाई गुणस्तर र विश्वसनीय सेवा उपलब्ध गराउने समूहको प्रतिबद्धता प्रतिबिम्बित गर्ने उनको भनाइ छ।

पारस खड्काको नियुक्तिले समूहको यो प्रतिबद्धतालाई थप मजबुत बनाएको उल्लेख गर्दै भण्डारीले खड्काले समर्पण, इमानदारी र विश्वासजस्ता संस्थाले महत्व दिने मूल्यहरूको प्रतिनिधित्व गर्ने बताए । त्यस्तै, एचएएमएसका कार्यकारी निर्देशक समिर भण्डारीले नेपालमा अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड भित्र्याउनु मात्रै कम्पनीको उद्देश्य नभएको बताए। ग्राहकले विश्वास गर्न र अपनत्व महसुस गर्न सक्ने दीर्घकालीन व्यावसायिक सम्बन्ध तथा ब्रान्डको विरासत निर्माण गर्नु कम्पनीको लक्ष्य रहेको उनको भनाइ छ ।
कम्पनीले भरपर्दो उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र उत्कृष्ट सवारी अनुभवमार्फत नेपाली ग्राहकसँग दीर्घकालीन सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ । पारस खड्कासँगको सहकार्यले नेपाली बजारमा ब्रान्डको पहिचान र विश्वसनीयता बढाउनुका साथै ग्राहकसँगको सम्बन्ध थप प्रगाढ बनाउने कम्पनीको विश्वास छ ।















प्रतिक्रिया दिनुहोस्