काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत स्वर्ण (गोल्ड) पुरस्कार प्राप्त गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा असार १६ गते काठमाडौंमा आयोजित विशेष समारोहमा कम्पनीले उक्त प्रतिष्ठित पुरस्कार प्राप्त गरेको हो। आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मान तथा लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको हो।
पुरस्कार ग्रहण कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा गरेका थिए। प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो उपलब्धि सम्पूर्ण नेपाल लाइफ परिवारको सामूहिक सफलताको परिणाम भएको उल्लेख गर्दै यसले कम्पनीलाई अझ उच्चस्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी प्रदान गरेको बताए। उनले सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
चैत मसान्त २०८३ सम्मको तथ्याङ्कअनुसार कम्पनीले हालसम्म ५२.४ लाखभन्दा बढी बीमा लेख जारी गरी लाखौँ परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याएको उल्लेख छ। कम्पनीले २ खर्ब ६७ अर्बभन्दा बढी जीवन बीमा कोष व्यवस्थापन गर्दै आएको छ भने हालसम्म १ खर्ब १३ अर्बभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ। त्यसैगरी, कम्पनीले नेपाल सरकारलाई हालसम्म १७ अर्बभन्दा बढी राजस्व तथा कर योगदान गरेको छ।
देशभर १९७ वटा कार्यालय, ७७ वटै जिल्लामा उपस्थिती तथा ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्