Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

‘युवाहरू स्वदेशमै परिश्रम गर्न तयार छन्, राज्यले सानै भएपनि उद्यम सुरु गर्ने वातावरण बनाइदिनुपर्छ’

‘युवाहरू स्वदेशमै परिश्रम गर्न तयार छन्, राज्यले सानै भएपनि उद्यम सुरु गर्ने वातावरण बनाइदिनुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं। युवाको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्दै उनीहरूलाई सीप, प्रविधि र रोजगारीसँग जोड्ने उद्देश्यका साथ मंगलबार विश्व युवा दक्षता दिवस मनाइँदैछ। विश्वभर बढ्दो बेरोजगारी, श्रम बजारमा आवश्यक सीपको अभाव तथा योग्यताअनुसार रोजगारी प्राप्त गर्न नसक्ने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले उक्त निर्णय गरेपछि हरेक वर्ष जुलाई १५ मा यो दिवस विश्वभर मनाइँदै आएको छ। विशेषगरी युवा जनशक्तिलाई आवश्यक सीप, प्रविधि र रोजगारीसँग जोड्ने उद्देश्यले यो दिवसले विश्वव्यापी बहस र नीतिगत छलफललाई निरन्तरता दिँदै आएको छ। नेपाल जस्तो ठूलो युवा जनसंख्या भएको देशका लागि युवा दक्षता र सीप विकास झन् महत्वपूर्ण विषय बनेको छ। जनसांख्यिक लाभको अवस्थामा रहेको नेपालले आफ्नो युवा शक्तिलाई सही दिशा दिन सके आर्थिक विकास र समृद्धिको बलियो आधार निर्माण गर्न सक्ने विज्ञहरूको धारणा छ।

डेढ दशकदेखि युवा अधिकार र सामाजिक मुद्दामा सक्रिय रुपमा अभियान सञ्चालन गर्दै आएका युवा अभियन्ता सरोज वानियाँका अनुसार पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनपछि युवाहरूले रोजगारी, उद्यमशीलता र आफ्नो भविष्य निर्माणसँग जोडिएका विषयमा ठूलो अपेक्षा राखेका छन्। नेपाल युवा परिषद्का संस्थापकसमेत रहेका उनले रोजीरोटी, जनजीविका र भविष्यसँग जोडिएका विषयमा वर्तमान सरकारसँग युवाहरूको ठूलो अपेक्षा रहेको बताए। उनले भने, ‘विशेषगरी जेन–जी आन्दोलनपछि नेपालमा एउटा राजनीतिक परिवर्तन भयो। त्यसपछि देश निर्वाचनमा गयो र नयाँ जनमत निर्माण भयो। अहिले नेपाली युवाहरूले हरेक दिनको रोजीरोटी, जनजीविका र भविष्यसँग जोडिएका विषयमा ठूलो अपेक्षा राखेका छन्।’

उनका अनुसार अहिलेको युवा पुस्ताको मुख्य चाहना आफ्नै देशमा अवसर सिर्जना गर्नु रहेको छ। विदेश जानुपर्ने बाध्यता कम गर्दै नेपालमै उद्यम गर्ने, आफ्नै श्रम र सीपलाई देशको विकासमा प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उनले औँल्याए।‘युवाहरूले आफ्नै देश र यही भूमिमा सानो भए पनि उद्यम गर्न, आफ्नो पसिना र श्रम देशको विकासमा प्रयोग गर्न सकौं भन्ने चाहना राखेका छन्। साथै विश्वभर बढिरहेका प्रतिस्पर्धात्मक अवसरलाई नेपालबाटै उपयोग गर्न सक्ने वातावरण राज्यले बनाइदिनुपर्छ,’ उनले भने।

वानियाँले अहिले देशको नेतृत्व तहमा युवाको उपस्थिति बढेको उल्लेख गर्दै त्यसअनुसार युवामैत्री नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिए।‘अहिले देशको प्रधानमन्त्री नै ३६ वर्षको युवा हुनुहुन्छ। मन्त्रिपरिषद्मा पनि युवाको प्रतिनिधित्व छ। संसद्मा पनि ठूलो संख्यामा युवा आएका छन्। यस्तो अवस्थामा युवाका लागि सीप, प्रविधि र रोजगारीसँग सम्बन्धित अझ प्रभावकारी कार्यक्रम आउने अपेक्षा स्वाभाविक हो,’ उनले भने।

तर, युवाका नाममा छुट्टै कार्यक्रम ल्याउनु मात्र पर्याप्त नभई राज्यका हरेक नीति र कार्यक्रममा युवालाई केन्द्रमा राख्नुपर्ने उनको धारणा छ। ‘युवा भनेको एउटा छुट्टै क्षेत्र मात्र होइन, यो सबै विषयसँग जोडिने क्रस–कटिङ विषय हो। एआई, प्रविधि, नवप्रवर्तन, डिजिटल साक्षरता, उद्यमशीलता लगायत सबै क्षेत्रमा युवाको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने। उनका अनुसार सरकारका नीति तथा कार्यक्रमहरूमा युवासँग सम्बन्धित विषय समेटिए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ।‘हामीले अपेक्षा गरेको स्तर ठूलो थियो। नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ। युवा जनसंख्या हाम्रो अवसर हो, तर त्यसलाई उपयोग गर्न आवश्यक सीप र अवसर सिर्जना गर्न अझ धेरै काम गर्न बाँकी छ,’उनले बताए।

‘एक युवा, एक सीप’ अवधारणाको आवश्यक

युवा अभियन्ता वानियाँले अब नेपालले ‘एक युवा, एक सीप’ अवधारणालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए। उनका अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सके नेपाली युवाले अन्तर्राष्ट्रिय श्रम बजारमा समेत राम्रो अवसर प्राप्त गर्न सक्छन्।‘हामीसँग ठूलो युवा जनशक्ति छ, तर धेरै जना आवश्यक सीपबिना वैदेशिक रोजगारीमा जान बाध्य छन्। राज्यले बजारको मागअनुसार सीप सिकाएर पठाउन सके उनीहरूको आम्दानी बढ्छ र जोखिम पनि कम हुन्छ,’ उनले भने।

उनले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई अझ प्रभावकारी र बजारमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए। विशेषगरी सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विश्लेषण, सफ्टवेयर विकास, डिजिटल सेवा र फ्रिलान्सिङजस्ता क्षेत्रमा युवालाई सक्षम बनाउनुपर्ने उनको सुझाव छ।‘अबको समय परम्परागत रोजगारीको मात्र होइन, प्रविधिमा आधारित कामको समय हो। एउटा कम्प्युटर र इन्टरनेटको माध्यमबाट नेपालमै बसेर विश्व बजारसँग जोडिन सकिने अवस्था आएको छ,’ उनले भने।

वैदेशिक रोजगारीमा जाने युवाका लागि सीप अनिवार्य

नेपालबाट ठूलो संख्यामा युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने गरेका छन्। तर पर्याप्त सीपबिना विदेश जाने धेरै युवा न्यून पारिश्रमिक र जोखिमपूर्ण काम गर्न बाध्य हुने गरेका छन्।‘खाडी मुलुकमा जाने धेरै युवा अझै पनि सामान्य श्रमिकका रूपमा जान्छन्। उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आवश्यक पर्ने सीप दिएर पठाउन सके उनीहरूको आम्दानी र जीवनस्तर दुवै सुधार हुन सक्छ,’ उनले भने। उनका अनुसार विदेश जान चाहने युवालाई आधारभूत कम्प्युटर ज्ञान, भाषा, प्रविधि र व्यावसायिक सीप प्रदान गर्न आवश्यक छ।

विश्वभर काम गर्ने शैली तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै वानियाँले नेपालका युवाले पनि नयाँ प्रविधिसँग आफूलाई निरन्तर अपडेट गर्नुपर्ने बताए। उनका अनुसार कोभिड–१९ पछि विश्व अर्थतन्त्र नयाँ ढङ्गबाट अघि बढिरहेको छ। कृत्रिम बुद्धिमत्ता, गिग इकोनोमी र डिजिटल रोजगारीको विस्तारसँगै काम गर्ने शैलीमा समेत ठूलो परिवर्तन आएको छ।‘पहिले बिहान कार्यालय जाने र निश्चित समयमा काम गर्ने प्रणाली थियो। अहिले प्रविधिले काम गर्ने शैली परिवर्तन गरिरहेको छ। अब संसारभरका कम्पनीका लागि नेपालबाटै काम गर्न सकिने अवस्था आएको छ,’उनले भने।

उनले सरकारले फ्रिलान्सिङ, डिजिटल काम र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्नेमा जोड दिए।‘नेपालमा अझै पनि अन्तर्राष्ट्रिय भुक्तानी, डेटा पहुँच र डिजिटल पूर्वाधारका समस्या छन्। हामीले केही सिक्न खोज्दा पनि अन्तर्राष्ट्रिय सेवा प्रयोग गर्न कठिनाइ हुन्छ। सफ्टवेयर किन्न, अनलाइन तालिम लिन र विभिन्न डिजिटल सेवामा पहुँच पाउन समस्या छ। यस्ता चुनौती समाधान गर्न राज्यले सहज वातावरण बनाउनुपर्छ,’ उनले बताए।

संस्था खराब होइन, नेतृत्व र कार्यशैलीले परिणाम निर्धारण गर्छ

वानियाँले युवाका लागि स्थापना गरिएका सरकारी संरचनाहरूलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार कोषलगायतका संस्था अपेक्षाअनुसार प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। ‘पुराना संरचना काम लाग्दैनन् भनेर हटाउनेभन्दा पनि पुनर्गठन गरेर नयाँ सोच र नेतृत्वका साथ अघि बढाउनुपर्छ। संस्था खराब होइन, नेतृत्व र कार्यशैलीले परिणाम निर्धारण गर्छ,’ उनले भने।
उनले युवालाई नेतृत्व तहमा ल्याएर यस्ता संस्थालाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे।

युवालाई सीप विकाससँगै सचेतना पनि आवश्यक

युवा क्षेत्रमा काम गर्दा केवल नीति निर्माण मात्र पर्याप्त नहुने भन्दै वानियाँले युवालाई सचेत र शिक्षित बनाउनुपर्ने बताए। उनका अनुसार राज्यले कुनै पनि नियम लागू गर्दा त्यसअघि जनचेतना फैलाउनु आवश्यक हुन्छ। ‘हाम्रो जस्तो विकासशील देशमा एकैपटक कडा कारबाहीभन्दा पहिले शिक्षा र सचेतना आवश्यक हुन्छ। युवालाई नियम, अवसर र जिम्मेवारीबारे जानकारी गराउनुपर्छ,’ उनले भने।
उनले सामाजिक सञ्जालमार्फत युवालाई सचेत गराउने अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए।

युवालाई सन्देश –हरेक दिन केही नयाँ सिकौं

विश्व युवा दक्षता दिवसको अवसरमा वानियाँले युवालाई आफ्नो क्षमता विकासमा निरन्तर ध्यान दिन आग्रह गरेका छन्।‘आज तपाईंको मोबाइल, ल्यापटप र इन्टरनेट नै संसारसँग जोडिने माध्यम हो। तपाईंले चाहनुभयो भने धेरै कुरा सिक्न सक्नुहुन्छ। आफूलाई कहिल्यै रोक्नु हुँदैन,’ उनले भने। उनले युवालाई हरेक दिन एउटा नयाँ कुरा सिक्ने बानी विकास गर्न आग्रह गर्दै एआई, डेटा विश्लेषण, नयाँ प्रविधि र डिजिटल सीप सिक्न सुझाव दिए।‘एआईका उपकरण, डेटा विश्लेषण, नयाँ प्रविधि र डिजिटल सीप सिक्नुस्। यसले तपाईंलाई नेपालमै बसेर पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्ने क्षमता दिन्छ,’ उनले भने।

उनका अनुसार सरकारले अवसर सिर्जना गर्ने काम गर्नुपर्छ, तर युवाले पनि आफ्नो क्षमता विकासमा सक्रिय भूमिका खेल्न आवश्यक छ।‘हातमा सीप लिनुस्। आफ्नो माटोलाई समृद्ध बनाउन युवाले नेतृत्व लिनुपर्छ। देश परिवर्तन गर्ने समय अहिलेको युवा पुस्ताकै हो,’ उनले भने।

विश्व युवा दक्षता दिवसले नेपालसहित विश्वभरका युवालाई सीप, प्रविधि र अवसरसँग जोड्ने बहसलाई थप बलियो बनाएको उनको धारणा छ। नेपालले आफ्नो युवा जनशक्तिलाई सही सीप, प्रविधि र अवसरसँग जोड्न सके यो जनसंख्या चुनौती नभई आर्थिक विकास र समृद्धिको सबैभन्दा ठूलो शक्ति बन्न सक्ने युवा अभियन्ता वानियाँको विश्वास छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit